रुकुम पूर्वमा महको उत्पादन दोब्बरले बढ्यो

सफल खबर संवाददाता

सोमबार, २३ पुस २०८०, ०८ : ४५
रुकुम पूर्वमा महको उत्पादन दोब्बरले बढ्यो

रुकुम । रुकुम पूर्वमा यस वर्ष महको उत्पादन दोब्बरले वृद्धि भएको छ । गत वर्ष विभिन्न कारणले मह उत्पादन घटेको थियो । जिल्लाको सिस्ने गाउँपालिकाको वडा नम्बर २ र ३ मा मौरीपालन हुँदै आएको छ । 

सिस्ने–३ का ओमप्रकाश खड्काले २५० धार्नी मह बिक्री गरेर यो याममा सात लाख ५० हजार रुपैयाँ आम्दानी गरेका छन् । अब १४० धार्नी मह बिक्री हुन बाँकी रहेको उनले बताए । “यस वर्ष राम्रो मह उत्पादन भएको छ । मैले यो याममा मौरी घारबाट निकालेको मह सबै बिक्री भयो भने १२ लाख कमाउँछु”, किसान खड्काले भने ।  

सोही वडाका अर्का मौरीपालक किसान कमलाल खड्काले पनि ६० घारबाट १८० धार्नी मह निकालेका छन् । मह निकाल्न अझै दश  मौरीका गोला बाँकी छन् भने १०८ धार्नी मह बिक्री भइसकेको छ । उनले बिक्री भएको महबाट तीन लाख २४ हजार आम्दानी गरेका छन् । अझै ७२ धार्नी मह बिक्री हुन बाँकी छ । उनले भने, “यो याममा सात लाख बराबरको आम्दानी हुने भएको छ ।”

एक किलो मह लाई १२ सयसम्ममा बिक्री हुने गरेको छ । यस क्षेत्रको मह रुकुम पश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज पोखरा र काठमाडौंलगायत सहरमा पुग्ने गरेको छ । 

प्रतिक्रिया दिनुहोस