दैलेखका राउटे समुदायलाई लत्ता कपडा वितरण, सीडीओ भुसालसँग मागे माघीका लागि खसी

सफल खबर संवाददाता

शुक्रबार, २० पुस २०८०, १२ : ४४
दैलेखका राउटे समुदायलाई लत्ता कपडा वितरण, सीडीओ भुसालसँग मागे माघीका लागि खसी

काठमाडौं। जिल्ला प्रशासन कार्यालय दैलेखले राउटे समुदायलाई लत्ता कपडा वितरण गरेको छ ।जिल्ला विपद् व्यवस्थापन समितिमा जगेडा रहेको लत्ता कपडा बिहीवार राउटे समुदायका ४१ घरधुरीलाई वितरण गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी भुसालको नेतृत्वमा उनीहरूलाई लत्ताकपडा वितरण गरिएको हो ।​​​​​न्यानो कपडा पाएपछि राउटे मुखिया सूर्यनारायण शाहीले खुशी हुँदै वितरण टोलीलाई धन्यवाद दिएका सीडीओ भुसालले  बताए ।

‘म लगायत मेरो जनता खुशी भएको छ । हामीलाई चिसोले निकै दुःख दियाँको थियो । आगो तापेर रात काट्थियौं । अब भने सुत्न पाउने भयौं,’ शाहीको भनाइ उद्धृत गर्दै भुषालले लोकान्तरसँग भने।मुखिया सूर्यनारायण शाही मात्र होइन राउटे समुदायका सबै नागरिक न्यानो कपडा पाउँदा हर्षित बनेका थिए ।

 

'दिनमा त घाम तापेर चिसो जान्थ्यो । रातिमा त जुनले तातो लाग्दैन । आगो बालेर रात जान्थ्यो । आज भने सुत्न पाइने भयो', अर्का राउटे युवा प्रकाश शाहीले खुशी हुँदै भने ।प्रमुख जिल्ला अधिकारी र राउटे मुखिया सूर्यनारायण केही समय गफिए । मुखियाले प्रमुख जिल्ला अधिकारीसँग माघी पर्वका लागि खसीको माग पनि राख्न भ्याएका थिए ।

उनीहरूलाई फाइबर सिरक, कम्बल, छाप्रो बनाउँदा आवश्यक पर्ने प्लास्टिकको डोरी, बाल्टिन, जग, टर्च लाइट र त्रिपाल वितरण गरिएको प्रमुख जिल्ला भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस