आँपटारीचोकदेखि देवघाटसम्म सडक दायाँ–बायाँका रुख र पोलमा रङ रोगन  हुने

सफल खबर संवाददाता

बुधबार, १८ पुस २०८०, १४ : ५१
आँपटारीचोकदेखि देवघाटसम्म सडक दायाँ–बायाँका रुख र पोलमा रङ रोगन  हुने

चितवन । भरतपुरको आँपटारीचोकदेखि देवघाटसम्म सडक दायाँ–बायाँका रुख र पोलमा रङ रोगन हुने भएको छ । रंग रोगनका लागि आवश्यक रङ बुधबार एक कार्यक्रमका बीच सशस्त्र प्रहरी बल आँपटारीलाई ९ सय लिटर रातो र सेतो रंग हस्तान्तरण गरिएको छ । रंग खरिदका लागि रु ५ लाख ९९ हजार ४ सय खर्च भएको महानगरले जनाएको छ । रङलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले सशस्त्र प्रहरी बल आँपटारीका प्रमुख शशी पाण्डेलाई संयुक्त रुपमा हस्तान्तरण गरे । महानगरपालिकाले दिएको रंगलाई सशस्त्र प्रहरीले सामाजिक उतरदायित्व अन्तर्गत रंग लगाउने कार्य गर्ने छ । करिब एक महिनाभित्र यो सडकमा रंग लगाउने काम सकिने छ ।

रङ हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर सहरको सौन्दर्याकरणका लागि देवघाट जाने सडकको दायाँ बायाँ रङ रोगन गर्न लागिएको बताइन्। प्रमुख दाहालले विकास र समृद्धिको यात्रामा भरतपुरले फड्को मारेको र आशा लाग्दो ढङ्गबाट विकास र पूर्वाधारका दृष्टिले उत्कृष्ट महानगरका रुपमा अगाडि लम्किएको उल्लेख गरिन् ।महानगरपालिकालाई हरियाली, सरसफाईयुक्त र उज्जयालो सहर निर्माण गर्ने काम अनरुप पहिलो चरणको स्मार्ट लाईट जडान गर्ने कार्य भई दोस्रो चरणको स्मार्ट लाईट जडानको कार्य अघि बढ्न लागेको जानकारी दिईन् ।

महानगरले चोक सुधार कार्यक्रम, सडकहरुलाई मार्किङ गर्ने, चौतार मर्मत सम्भार, आवश्यक पूर्वाधार थप गर्ने लक्ष्य राखेको प्रमुख दाहालको भनाई छ । महानरपालिकाले भरतपुरमा निर्माण भईसकेका सडकलाई हरियाली प्रर्वद्धन कार्यक्रम अन्तर्गत वृक्षरोपण कार्यलाई पनि प्राथामिकताको साथ अगाडि बढाईरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस