मन्त्रीलाई सचिवको चुनौती– प्रधानमन्त्रीले निर्देशन दिए पनि हस्ताक्षर गर्दिन

वन मन्त्रालयमा मन्त्री–सचिव चर्काचर्की

सफल खबर संवाददाता

मंगलबार, १७ पुस २०८०, १६ : ४१
मन्त्रीलाई सचिवको चुनौती– प्रधानमन्त्रीले निर्देशन दिए पनि हस्ताक्षर गर्दिन

काठमाडौं। वन तथा वातावरण मन्त्रालयका सचिव दीपककुमार खरालले आफ्नै मन्त्रालयका मन्त्री वीरेन्द्र महतोले लगाएको आरोपको जवाफ फर्काएका छन् ।मन्त्रालयमा मंगलवार दिउँसो सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले वन तथा वातावरणमन्त्री महतोले कर्मचारीलाई टेरेनन् भन्ने आरोपको जवाफ फर्काएका हुन् ।

बूढानीलकण्ठमा निर्माण गरिएको ‘होटल फरेस्ट इन’सम्बन्धी फाइल अगाडि नबढेपछि आक्रोशित बन्दै मन्त्रालय पुगेका नेपाली कांग्रेसका सांसद दीपक खड्कालाई सम्बोधन गर्ने क्रममा वनमन्त्री महतोले कर्मचारीले आफूलाई नटेरेको बताएका थिए ।

त्यसैको जवाफ दिँदै सचिव खरालले मन्त्री र प्रधानमन्त्रीले कानूनसम्मत दिएका निर्देशन आफूहरूले पालना गरेको बताएका छन् ।कानूनमा अस्पष्टता भएमा कसैको निर्देशन पनि मान्न नसकिने उनले स्पष्ट पारेका हुन् ।

 

 

 

‘कर्मचारीलाई काम गर्न विधि, प्रक्रिया, मापदण्ड र ऐन–नियम चाहिन्छ । त्यो स्पष्ट भएको खण्डमा काम अघि बढाउन सकिन्छ । अस्पष्ट भएमा अगाडि बढाउन सकिँदैन। हामीले गरेका प्रक्रिया कामसम्मत छैनन् भने प्रश्न उठाउने हो र काम गरेका छौं भने सराहना गर्नुपर्छ,’ सचिव खरालले भने, ‘भएका विधि प्रक्रियाअनुसार काम अघि बढाइरहेका छौं । मन्त्री र प्रधानमन्त्रीका निर्देशनलाई  कानूनसम्मत भएका नगरेको भने पटक्कै छैन ।’

सो अवसरमा उनले कांग्रेस सांसद खड्का कसैलाई हातपात गर्न मन्त्रालय नआएको स्पष्ट पारेका छन् । ‘माननीयज्यूूले सदासायताका साथ भन्नुभयो– सचिवज्यू आज टुंगो लगानुपर्छ,’ उनले थपे । 

सचिव खरालले शिवपुरी राष्ट्रिय निकुञ्ज रहेको मध्यवर्ती क्षेत्रमा व्यावसायिक होटल स्थापनाका लागि सांसद खड्का ४ वर्षदेखि प्रयासरत रहेको पाइएको जानकारी दिँदै तर कानूनी प्रक्रिया नपुर्याएकाले फाइल अड्किएको स्पष्ट पारे ।

मध्यवर्ती क्षेत्रमा व्यावसायिक होटल खोल्न सांसद खड्काले उद्योग सञ्चालक समिति र ईआईएको मापदण्ड पनि नपुर्याएकाले उनलाई ५ लाख रुपैयाँ जरिवाना गराइएको सचिव खरालको भनाइ छ ।

‘सो क्षेत्रमा साढे २ तलाभन्दा माथिको होटल खोल्न नपाउने भन्ने रहेछ । सांसद खड्काले मान्यताअनुसार स्वीकृत नलिएको पाइएको छ । कानूनले तोकबमोजिम नभएकाले उहाँहरूलाई दण्ड जरिवाना गरिएको हो,’ उनले थपे, कानून बमोजिमका मापदण्ड, विधि र प्रक्रियाअनुसार जानै पर्यो । राष्ट्रिय निकुञ्ज ऐन र मध्यवर्ती क्षेत्रको नियमावली त पूरा गर्नु पर्यो नि !’ 

यसअघि बूढानीलकण्ठमा निर्माण गरिएको ‘होटल फरेस्ट इन’सम्बन्धी फाइल अगाडि नबढेपछि आक्रोशित बन्दै मन्त्रालय पुगेका कांग्रेसका सांसद खड्कालाई वन तथा वातावरणमन्त्री मन्त्री महतोले जवाफ फर्काएका छन् ।

मंगलवार दिउँसो नै मन्त्रालयमा सञ्चारकर्मीका प्रश्नको जवाफ दिँदै उनले आफ्ना कारण होटल निर्माणको फाइल नरोकिएको स्पष्ट पारेका थिए ।मन्त्री महतोले ऐन–कानूनमा समस्यासँगै कर्मचारीको पनि अटेरीका कारण उक्त फाइल अड्किएको बताएका थिए । त्यसैको जवाफ सचिव खरालले मन्त्रीलाई दिएका हुन् । 

प्रतिक्रिया दिनुहोस