काठमाडौं–पोखरा र काठमाडौं–सुनौलीमा सोफासहितका पर्यटक बस सञ्चालन

सफल खबर संवाददाता

मंगलबार, १७ पुस २०८०, १४ : ३८
काठमाडौं–पोखरा र काठमाडौं–सुनौलीमा सोफासहितका पर्यटक बस सञ्चालन

काठमाडौं। सन् २०२४ को शुरूवातसँगै काठमाडौं–पोखरा र काठमाडौं–सुनौली पर्यटक बससेवा शुरू भएको छ ।नेपालको आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न चार कम्पनीले सोफासहितको बस सञ्चालनमा ल्याई यात्रुलाई सेवा प्रदान गरेका हुन् ।

 

बाबा एडभेन्चर टुर्स एन्ड ट्राभल्स, रेम्बो एडभेन्चर टुर्स एन्ड ट्राभल्स, यती एडभेन्चर टुर्स एन्ड ट्राभल्स, ब्ल्यू लाइन ट्राभल एन्ड टुर्सले काठमाडौंदेखि पोखरा र काठमाडौंदेखि सुनौली जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी बस सञ्चालनमा ल्याएका हुन् ।

यती एडभेन्चर टुर्स एन्ड ट्राभल्सका सञ्चालक कृष्ण आचार्यले नयाँ वर्षलाई लक्षित गरी काठमाडौंदेखि पोखरा र सुनौली आठ वटा पर्यटक बसले सेवा प्रदान गरेको बताए । टुरिष्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष रहेका आचार्यले नेपालको पर्यटक बसमा पछिल्लो समय ठूलो लगानी भए पनि बाटो बिग्रिएका कारण समस्या भएको उल्लेख गरे ।​

रेम्बो एडभेन्चर टुर्स एन्ड ट्राभलको सञ्चालक शिशिर खनालले पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि सोफासहितको नयाँ बस सञ्चालनमा ल्याइएको बताए । उनले आफ्नो कम्पनीले रु दुई करोड ५० लाखमा दुई वटा बस खरिद गरी पर्यटकलाई सेवा प्रदान गरेको उल्लेख गरे । रेम्बो, ब्ल्यू र यतीले भित्र्याएका बसहरूले काठमाडौं–पोखरा पर्यटकलाई सेवा प्रदान गर्नेछन् ।

यसअघि काठमाडौंदेखि पोखरा र काठमाडौंदेखि चितवन पर्यटक बसमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सेवा प्रदान गर्दै आइरहेको बाबा एडभेन्चरले सुनौलीका यात्रुलाई लक्षित गरी काठमाडौं सुनौली बससेवा सञ्चालन गरेको छ ।

बाबा एडभेन्चरका सञ्चालक एवं टुरिष्ट बस एसासिएसनका पूर्वअध्यक्ष प्रल्हाद लोहनीले भारतीय पर्यटकलाई लक्षित गरी नयाँ वर्षदेखि बाबा एडभेन्चरले दुईवटा बस सञ्चालन गरेको जानकारी दिए ।

नेपालमा पर्यटक बसमा ठूलो लगानी भए पनि पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा व्यवसायीलाई समस्या परेको छ । हाल काठमाडौं महानगरपालिका–१६ स्थित सोह्रखुट्टे सडकबाट पर्यटक बस देशका विभिन्न भागमा ओहोरदोहोर गर्दै आएका छन् ।​

टुरिष्ट बस एसोसिएसन अफ नेपालका महासचिव मिलन नेपालले पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या परेको बताए । हाल काठमाडौं सोह्रखुट्टे सडक हुँदै दैनिक एक सयभन्दा बढी पर्यटक बस देशका विभिन्न भागमा ओहोरदोहोर गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस