दुग्ध पदार्थ बिक्री नहुँदा इलामका कृषकलाई ‘मिल्क होलिडे’ को त्रास

सफल खबर संवाददाता

सोमबार, ०९ पुस २०८०, ०९ : १९
दुग्ध पदार्थ बिक्री नहुँदा इलामका कृषकलाई ‘मिल्क होलिडे’ को त्रास

इलाम । सूर्योदय नगरपालिका–११ का गोपाल भट्टराईले प्रतिदिन ६० लिटर दुग्ध बिक्री गर्छन् । ज्योति पुञ्ज गाईफार्म दर्ता गरेर व्यावसायिक दुग्ध उत्पादन गरिरहेका उनले स्थानीय सुप्रभात डेरी उद्योगलाई दुग्ध बिक्री गर्छन् ।  पछिल्लो समयमा डेरीमा थन्किएको घ्यू र छुर्पी देख्दा उनको मनमा चिसो पस्न थालेको छ । “हाम्रो ठाउँमा आशलाग्दो बनेको गाईपालन नै मासिएलाजस्तो छ ।” उन भन्छन्, “दुग्ध विकेन भने किसानले हातमुख कसरी जोड्ने ? घर–घरमा अभाव छिर्ने खतरा बढ्यो ।”

दुग्ध पदार्थ बिक्री नहुँदा इलामका कृषकलाई ‘मिल्क होलिडे’ सुरु हुने त्रास बढेको छ । घ्यू र छुर्पी बिक्री नभएपछि विराटनगर दुग्ध वितरण आयोजनाले मात्र होइन निजी क्षेत्रका डेरीले समेत किसानको दूधको भुक्तानी दिन सकेका छैनन् । यसका कारण कृषक अप्ठ्यारोमा परेका छन् । 

“यसअघि गुणस्तरको आधारमा प्रतिलिटर रु ७० सम्म दूधको मूल्य पाएका किसानले अहिले रु ४०–५० मा चित्त बुझाउनुपरेको छ ।” सूर्योदय नगरपालिका–१ मकरजुङका किसान जीवन पोखरेल भन्छन्, “न समयमा पेमेन्ड हुन्छ, सबै उद्योगमा सामान स्टक देखिन्छ । यो पाराले त मिल्क हालिडे होलाजस्तो भइसक्यो ।” इलाममा दुग्ध विकास संस्थान (डिडिसी)र निजी दुग्ध उद्योगका लागि ७८ हजार लिटर दुग्ध दैनिक उत्पादन गर्ने करिब चार हजार परिवार कृषकको यस्तै पीडा छ । 

सूर्योदयका दुग्ध व्यवसायी अमृत पाण्डेले घ्यू र छुर्पी बिक्री नभएपछि निजी डेरीहरूले दूधको मूल्य घटाउन बाध्य हुनुपरेको गुनासो गरे । सन्राइज डेरी उद्योगमा दैनिक दुग्ध सङ्कलन गर्दै आउनुभएका पाण्डेसँग हाल घ्यू छुर्पी स्टक रहेको छ । उन भन्छन्, “सकेसम्म ऋण लिएर पनि किसानको भुक्तानी समयमा गरिरहेको थिएँ तर, अब अवस्था जटिल भइसक्यो ।” 

आयोजनाले पनि घ्यू, पाउडर दूधको बिक्री सहज नभएसम्म किसानको दूधको मूल्य भुक्तानी सहज नहुने जनाएको छ । विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख परमेश्वर चौधरीले अहिले घ्यू र पाउडर गरेर एक सय ३३ टन दुग्ध पदार्थ स्टकमा रहेको जानकारी दिए । “भण्डारण कक्ष कुनै खाली छैनन् ।” उनले भने, “बिक्री ठप्प भएपछि आयोजनालाई दैनिक सङ्कलन हुने दुग्ध व्यवस्थापन झनै चुनौतीपूर्ण बन्दै गएको छ ।”

पशुलाई दाना खुवाउन पनि ऋण काँड्नुपर्ने अवस्था आएको गुनासो पोख्दै कृषक राजन भट्टराईले निजी डेरीले दूध लिनै छोड्छन् की भन्ने डर सुरु भएको बताए । उनलाई आयोजनाले दूध थेग्न नसकेपछि मिल्क होलिडे सुरु हुने आशङ्का छ । सूर्योदय नगरपालिका–१२ का अर्का कृषक भूपेन्द्र गड्तौला आयोजनाले कृषकको दूध खरिद गर्दिन भन्न नमिल्ने बताउनुहुन्छ । उन भन्छन्, “डिडिसी सरकारको निकाय हो, उसले किसानको दूध अस्वीकार गर्न मिल्दैन ।”

प्रतिक्रिया दिनुहोस