अंगदानका निम्ति सबैले प्रोत्साहित गरौं : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, ०७ पुस २०८०, १० : ४८
अंगदानका निम्ति सबैले प्रोत्साहित गरौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले अंग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ-आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गरेका छन् । आज बिहान काठमाडौँमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले भने- ‘सबै दाजुभाइ दिदीबहिनीहरूमा म आह्वान गर्दछु- मरेपछि खरानी भएर जाने अङ्गहरू दान गर्दा धेरै मानिसले पुनर्जीवन पाउँछन् । मानव हुनुको नाताले कलेजो, मृगौला, मुटु, फोक्सोलगायतका अंग फेल भएर मृत्युको मुखमा पुगेका बिरामीहरूलाई बचाउन प्रयास गर्नु सबै मानवको साझा जिम्मेवारी हो । तसर्थ, अंग प्रत्यारोपणको यस राष्ट्रिय अभियानबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गर्दछु । ‘

उनले सम्मेलनका सुझाव र निष्कर्षअनुसार उनले सुधारका निम्ति नेपाल सरकार प्रतिबद्ध रहेको बताए। ‘मानव अंग प्रत्यारोपणका विज्ञ एकै ठाउँ भेला भएर प्रत्यारोपण सम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान एवं प्रत्यारोपणका क्षेत्रमा देखिएका चुनौतीहरू सम्बोधनका दृष्टिले यो सम्मेलन समग्र देशको स्वास्थ्य सेवाका दृष्टिले समेत दूरगामी महत्वको छ। यसका निम्ति नेपाल सरकारको तर्फबाट खुसी व्यक्त गर्दै सबै विद्धान् चिकित्सकहरूमा अभिवादन व्यक्त गर्दछु।’उनले भने,‘सामूहिक छलफल र अन्तरक्रियाका आधारमा सम्मेलनले दिने सुझाव र निकाल्ने निष्कर्ष स्वास्थ्य सेवामा गुणात्मक रूपान्तरणका निम्ति महत्त्वपूर्ण हुनेछ। तसर्थ, सम्मेलनका सुझाव र निष्कर्षअनुसार यस क्षेत्रमा गर्नुपर्ने सुधारका निम्ति नेपाल सरकार प्रतिबद्ध रहेको जानकारी गराउँछु।’

प्रतिक्रिया दिनुहोस