प्रधानमन्त्री प्रचण्डले भेटे विपिन जोशीका परिवार

सफल खबर संवाददाता

शुक्रबार, २२ मंसिर २०८०, ११ : ५८
प्रधानमन्त्री प्रचण्डले भेटे विपिन जोशीका परिवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा हमासले गरेको आक्रमणपछि वेपत्ता भएका विपिन जोशीको परिवारलाई भेटेका छन् ।  प्रधानमन्त्री प्रचण्डले आज बिहान कैलालीको धनगढी विमानस्थलमा जोशी परिवारलाई भेटेका हुन ।

भेटमा विपिनका अभिभावकले विपिनको उद्धारको पहलबारे सोधेका थिए । साथै छिटो उद्धार गरिदिन आग्रह पनि गरेका थिए । प्रचण्डले विपिनको सकुशल रिहाइका लागि अधिकतम कूटनीतिक पहल जारी राखेको बताएका थिए ।

प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम महोत्सव उदघाटन कार्यक्रममा सहभागी हुन आज बिहान कैलाली पुगेका छन् । सोही क्रममा उनले जोशी परिवारसँग भेटघाट गरेका हुन् ।सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत  विपिन सहितका ४९ विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए । गत असोज २० गते  किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का जोशी सम्पर्कविहीन भएका थिए ।

इजरायली सेना र तेलअविवस्थित नेपाली राजदूतावासले विपिन हमासको नियन्त्रणमा रहेको पुष्टि गरे पनि उनको अवस्था कस्तो छ भन्ने खुलेको छैन । यसअघि परराष्ट्रमन्त्री एनपी साउद कञ्चनपुर गएका बेलामा पनि विपिनका आमा–बुवाले उनीसँग भेटेर विपिनको अवस्था पत्ता लगाउन भइरहेको प्रयासबारे जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस