नेपाल स्काउटमा १२ वर्षपछि निर्वाचनको तयारी, अनलाइन सदस्यताका लागि मंसिर ३० को समयसीमा

सफल खबर संवाददाता

मंगलबार, १९ मंसिर २०८०, १४ : ३०
नेपाल स्काउटमा १२ वर्षपछि निर्वाचनको तयारी, अनलाइन सदस्यताका लागि मंसिर ३० को समयसीमा

काठमाडौं। बाह्र वर्षको अन्तरालपछि नेपाल स्काउटले स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्का लागि निर्वाचन गर्ने तयारी गरेको छ ।बालबालिका तथा युवाको अनौपचारिक शिक्षाका क्षेत्रमा कार्यरत स्काउट स्थानीय परिषद्को निर्वाचन आगामी पुस २७ देखि २९ गतेसम्म तथा प्रदेश परिषद्हरू र राष्ट्रिय परिषद्को निर्वाचन आगामी माघ ६ गते सम्पन्न गर्नेगरि मिति तोकिएको तदर्थ समितिका संयोजक एवं प्रमुख आयुक्त लोकबहादुर भण्डारीले जानकारी दिए ।

 

निर्वाचनअघि यही मंसिर ३० गतेभित्र ‘अनलाइन’ सदस्यता आवेदन भर्न सूचना जारी गरिएको छ । ती निर्वाचन पर्यवेक्षणका लागि विश्व स्काउट संगठन (ओजम) र वाग्सका अन्तर्राष्ट्रिय प्रतिनिधिलाई आमन्त्रण गरिएको जनाइएको छ ।

 

वि.सं. २०६८ मा निर्वाचन भएयता स्काउटमा निर्वाचन हुन सकेको छैन । वि.सं. २०७० मा तत्कालीन प्रमुख आयुक्तले राजीनामा दिएपछि, नेपाल स्काउट तदर्थ समितिका आधारमा चल्दै आएको छ ।

नेपाल  स्काउट ऐन, २०५० अनुसार प्रत्येक चार वर्षमा आवधिक निर्वाचन हुने व्यवस्था भए पनि आन्तरिक विवादका कारण चुनाव हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस