सार्वजनिकस्थलमा सुर्ती प्रयोग गरे १ लाखसम्म जरिवाना

सफल खबर संवाददाता

सोमबार, १८ मंसिर २०८०, ११ : ०५
सार्वजनिकस्थलमा सुर्ती प्रयोग गरे १ लाखसम्म जरिवाना

काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगरभित्रका सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ प्रयोग तथा बिक्रीवितरणमा रोक लगाउने भएको छ। महानगरपालिकाले महानगरपालिका जनस्वास्थ्य ऐन, २०८० र सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ अनुसार यही मंसिर २७ देखि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ प्रयोग र बिक्रीमा रोक लगाउने निर्णय गरेको हो।

महानगरपालिकाको निर्णय कार्यान्वयसँगै रेष्टुरेन्ट, बार, चमेना गृह, भोजनालय, छात्रावास, कभर्ड हल, लज, अतिथि गृह, पुल हाउस, रंगशाला, शारीरिक सुगठन व्यायाम केन्द्र, सरकारी कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था, बालआश्रम, वृद्धाआश्रम, सार्वजनिक शौचालयमा सुर्तीजन्य पदार्थ प्रयोग तथा बिक्रीवितरण गर्न पाइने छैन।

त्यस्तै अनाथआश्रम, बाल उद्यान, उद्योग तथा कलकारखानाका कार्यस्थल, चलचित्र घर, नाट्यशाल, सांस्कृतिक केन्द्र, होटेल, मोटेल, रिसोर्ट, धर्मशाला, बसपार्क, टिकट काउन्टर, एयरपोर्टलगायत स्थलमा पनि सुर्तीजन्य पदार्थ प्रयोग तथा बिक्रीमा रोक लाग्नेछ।

सार्वजनिक स्थलदेखि २ सय मिटर टाढा बन्द प्याकेटमा मात्र चुरोटलगायत सुर्तीजन्य पदार्थ बिक्री गर्न पाउने व्यवस्था ऐनले गरेको छ। १८ वर्षमुनिका बालबालिकालाई भने सुर्तीजन्य पदार्थ विक्री गर्न ऐनले रोक लगाएको छ।

कारागार, विमानस्थल वा पर्यटकीयस्तरको होटेलको कुनै खास ठाउँमा अन्य व्यक्तिलाई प्रतिकूल असर नपर्ने गरी सुर्तीजन्य पदार्थ प्रयोग गर्न पाउने व्यवस्था व्यवस्थापकले मिलाउन सक्ने छन्। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस