चितवन । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान ऐन नियम परिवर्तनसँगै अब नेपालमा विकासको गतिले तिव्रता पाउने बताएका छन् ।
चितवन उद्योग संघले आइतबार साँझ चितवन प्रदर्शनी केन्द्र भरतपुरमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत एवं बधाई कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले ऐनमा सुधार गर्दै आयात निर्यात सम्बन्धी राष्ट्रहित विपरीतका कानुनलाई परिवर्तन गरेर आउने पाँच वर्षभित्र आर्थिक क्रान्तिका नयाँ मोडेलहरु राष्ट्रका लागि राख्न सकिने विश्वास व्यक्त गरे ।
पब्लिक प्राईभेट पार्टनरसीप मोडेल प्रभावकारी देखिएको भन्दै अध्यक्ष प्रचण्डले अब यसरी नै देशको आर्थिक विकास गर्नका लागि एक भएर अघि बढ्नुपर्ने बताए । विगतमा जस्तो सरकार नबन्ने भन्दै पूर्वप्रधानमन्त्री प्रचण्डले अब बन्ने सरकारले देश परिवर्तनको झल्को दाबी गरे ।
निजी क्षेत्रका व्यवसायीसँग धेरैभन्दा धेरै अन्तरक्रिया हुन आवश्यक रहेको भन्दै अध्यक्ष प्रचण्डले त्यसबाट प्राप्त सुझावलाई अब बन्ने सरकारले गम्भिरताका साथ लिने बताए । अध्यक्ष प्रचण्डले गृहजिल्ला चितवनमा जनप्रतिनिधिको हैसियतबाट विकासकये लहर ल्याउने बताए ।
राष्ट्रिय राजधानी, आर्थिक राजधानी र प्रादेशिक राजधानीको रुपमा जहिले पनि चितवन चर्चामा रहेको भन्दै पूर्वप्रधानमन्त्री प्रचण्डले विकासका नयाँ मोडल लागु गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विकास गर्ने सम्भावना चितवनमा रहेको बताए ।
कार्यक्रममा प्रदेश सभा र प्रतिनिधि सभाका सांसदहरुलाई चितवन उद्योग संघका अध्यक्ष भिमबहादुर पाण्डेले मायाको चिनो प्रदान गर्दै बधाई ज्ञापन गरेका थिए । कार्यक्रममा उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, प्रदेश सभा सदस्य विजय सुवेदी, चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस