मकवानपुरबाट नरभक्षी बाघ नियन्त्रणमा, पठाइयो चितवन

सफल खबर संवाददाता

सोमबार, ११ मंसिर २०८०, ०८ : २२
मकवानपुरबाट नरभक्षी बाघ नियन्त्रणमा, पठाइयो चितवन

मकवानपुर । मानिसलाई आक्रमण गरि ज्यान लिने नरभक्षी बाघलाई नियन्त्रणमा लिएर चितवन पठाइएको छ । नेपाली सेना र राष्ट्रिय निकुञ्जको टोलीले मकवानपुरबाट नरभक्षी बाघलाई नियन्त्रणमा लिएको हो। गत शुक्रबार चितवनका हरिप्रसाद पौडेललाई आक्रमण गरि ज्यान लिने नरभक्षी बाघलाई मकवानपुरबाट नियन्त्रणमा लिएको हो ।

चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा नरभक्षी बाघ खोज्दै गएको नेपाली सेना र निकुञ्जका अधिकारीको टोलीले आइतबार राती ९ः४० बजे बाघलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

नियन्त्रणमा लिइएको बाघलाई वन्यजन्तु केन्द्र चितवन पठाइएको मकवानपुर प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार सेना र चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सुनाचुरी रेञ्ज पोष्टबाट ४ वटा हात्ती प्रयोग गरी नरभक्षी बाघको खोजी गरिएको थियो ।

उक्त बाघले गएको शुक्रबार मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ खयर घारी गाउँदेखि अन्दाजी २ किलोमिटर दक्षिण तर्फ रहेको राप्ति र लोथर खोलाको मध्यवर्ति क्षेत्र अन्तरगत दोभानमा चितवनको राप्ती नगरपालिका–१, दुबीचौरका ४३ वर्षीय हरिप्रसाद पौडेललाई आक्रमण गरी ज्यान लिएको थियो । 

बाघ खोज्दै जाने क्रममा उक्त स्थानबाट पहिचान खुल्न नसकेको एकजना पुरुषको शव फेला परेको छ । चितवनका पौडेललाई आक्रमण गर्ने उक्त नरभक्षी बाघ खोज्दै जाने क्रममा आइतबार साँझ ५ बजेको समयमा मनहरी गाउँपालिका–६ राप्तीखोला र लोथरखोलाको दोभानमै एकजना पुरुषको शव फेला परेको प्रहरी प्रवक्ता भण्डारीले बताए ।

उक्त शवको शरीरको कम्मरभन्दा माथिको भागमा अस्थीपञ्जर मात्रै भएकोले बाघकै आक्रमणबाट मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस