अन्तरजातीय विवाह गर्ने जोडीलाई नगरपालिकाको एक लाख

रासस

शुक्रबार, २४ कार्तिक २०८०, १३ : ०६
अन्तरजातीय विवाह गर्ने जोडीलाई नगरपालिकाको एक लाख

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई पोत्साहनस्वरुप रु एक लाख उपलब्ध गराएको छ । छाँयानाथ रारा–१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय विवाह गरेपछि उक्त जोडीलाई नगरपालिकाले रकम उपलब्ध गराएको हो ।

कामी र बुढाले गत वर्ष माघमा विवाह गरेका थिए । छायाँनाथ रारा नगरपालिकाले १२औँ नगरसभामा अन्तरजातीय विवाह गर्ने जोडीलाई रु एक लाख प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

नगरपालिकाको १२औँ नगर सभाले आर्थिक वर्ष २०७९/८० देखि लागू हुने गरी नगरपालिकाभित्र अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन रकम दिने निर्णय गरिएको नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिए ।