राहत वितरणमा एकद्वार नीति अवलम्बन गरेका छौं, खुला आकाशमुनि बस्नु पर्दैन : गृहमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

बुधबार, २२ कार्तिक २०८०, १६ : ०८
राहत वितरणमा एकद्वार नीति अवलम्बन गरेका छौं, खुला आकाशमुनि बस्नु पर्दैन : गृहमन्त्री श्रेष्ठ

कास्की। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई राहत वितरणमा सरकारले एकद्वार नीति लिएको बताएका छन् ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीन सरकारका तर्फबाट भूकम्प प्रभावितका लागि उपलब्ध गराइएको सामग्री बुझेपछि आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो जानकारी दिएका हुन्।

विभिन्न दाताले उपलब्ध गराएको सहयोगलाई सङ्कलन गरी तीन वटै सरकारको समन्वयमा एकद्वार प्रणालीबाट भूकम्पपीडितलाई प्रदान गरिने उनले बताए ।

 

‘भूकम्प पीडित कोही पनि खुला आकाशमुनि बस्नु नपरोस्, जाडोमा भुइँमा सुत्नु नपरोस् तथा खाद्यान्नविहीन हुनु नपरोस् भन्ने तवरबाट सरकारले काम गरिराखेको छ । यसका लागि आवश्यक व्यवस्थासहित सम्बद्ध पक्षलाई निर्देशन पनि दिइसकिएको छ ।’ उनले भने । 

 

 

भूकम्पलगत्तै प्रभावित दुवै जिल्लामा सरकारले पाँच/पाँच करोड रुपैयाँ उपलब्ध गराइसकेको उनले जानकारी दिए ।भूकम्पपछि मित्रराष्ट्रबाट सहयोग आउनेक्रम जारी रहेको जनाउँदै उनले सहयोग दाताप्रति धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस