विद्यालय शिक्षा विधेयकमाथि १६० संशोधन प्रस्ताव दर्ता

सफल खबर संवाददाता

सोमबार, २० कार्तिक २०८०, १९ : ४६
विद्यालय शिक्षा विधेयकमाथि १६० संशोधन प्रस्ताव दर्ता

काठमाडौँ । सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न तयार पारेको विधेयक, २०८० माथि एक सय ६० संशोधन प्रस्ताव दर्ता भएको छ।

संविधानले विद्यालय तहको शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिएको व्यवस्थालाई सम्बोधन गर्दै सरकारले विद्यालय शिक्षा विधेयक ल्याउने तयारी अघि बढाएसँगै चौतर्फी विरोध भएको थियो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विधेयक संसद्मा दर्ता गराएसँगै विधेयकमा गरिएको व्यवस्थाको सरोकारवालाहरूले विरोध गरेपछि सरकार छलफलको लागि पुनः संसद्मा विधेयक दर्ता गरेको हो।

त्यसपछि विधेयकमाथि एक सय ६० संशोधन प्रस्ताव दर्ता भएको संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले जनाएको छ ।

संविधानले विद्यालय शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिएको अवस्थामा शिक्षकहरू भने स्थानीय तहको मातहतमा बस्न नचाहनु नै विधेयकको मुख्य चुनौती रहेको समितिका सभापति भानुभक्त जोशीले बताए।