भारत र चीनले आवस्यक परे सहयोग गर्न तत्पर छौं भनेका छन्: गृहमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

शनिबार, १८ कार्तिक २०८०, १३ : ५६
भारत र चीनले आवस्यक परे सहयोग गर्न तत्पर छौं भनेका छन्: गृहमन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पश्चिम नेपालमा गएको भूकम्पपछिको राहत र उद्धारका लागि आवस्यक परे सहयोग गर्न भारत र चीनले तत्परता देखाएको बताएका छन् । आवस्यक पर्दा छिमेकी मित्रराष्ट्रहरूसँग सहयोग लिने उनले बताए । 

 

शनिवार गृह मन्त्रालयमा बसेको सरोकारवालाको बैठकपछि गृहमन्त्री श्रेष्ठले सरकारको तत्कालको प्राथमिकता उद्धार र राहत रहेको बताएका हुन् । 

 

‘विदेशी मित्रराष्ट्रले सहयोग गर्न तयार भएर बसेका छौं, क्षतिको सन्दर्भमा हामीले के सहयोग गर्नुपर्यो भनेर सोधका छन् । अहिले हामी उद्धारको काममा छौं, सहयोग आवस्यक परे लिन्छौ भनेका छौं,’ उनले भने ।

 

भारत र चीनले आवस्यक परे जनशक्ति समेत पठाउने बताएको स्रोतले बतायो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको र सबै सम्भव सहयोग गर्न तयार रहेको बताएका थिए । 

 

गृहमन्त्री श्रेष्ठले सुर्खेतलाई केन्द्र बनाएर राहत र उद्धारको काम गर्ने प्रतिबद्धता जनाए । भूकम्प प्रभावित क्षेत्रमा शव व्यवस्थापनका लागि विशेषज्ञ टोली पठाइसकिएको उनले जानकारी दिए । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यराति गएको भूकम्पका कारण अहिलेसम्म १३६ जनाको मृत्यु भएको छ भने सयौं घाइते छन् ।

प्रतिक्रिया दिनुहोस