परराष्ट्रमन्त्रीलाई भेटेपछि निराश भएर फर्किए बद्री केसी

सफल खबर संवाददाता

शनिबार, ११ कार्तिक २०८०, २१ : ०७
परराष्ट्रमन्त्रीलाई भेटेपछि निराश भएर फर्किए बद्री केसी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्माले आधिकारिकताको दाबी गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएसँगै आफूलाई अवैध रुपमा अध्यक्ष घोषणा गरेका बद्री केसी परराष्ट्र मन्त्री एनपी साउदलाई भेट्न पुगेका छन् । उनी आफ्नो समूहका प्रतिनिधिमण्डलसहित शनिबार साउदलाई भेट्न निवासमै पुगेका हुन् । तर भेट सकारात्मक हुन नसकेको एक पदाधिकारीले जानकारी दिए ।

उनले आफूले सही ढंगले निर्वाचन गराएको भन्दै गैरआवासीय नेपाली संघको ११ औं महाधिवेसन पछि उत्पन्न परिस्थितीबारे मन्त्रीलाई जानकारी गराका थिए । तर, साउदले धाँधलीको कुरा आएकाले यसबारेमा आफू अध्ययनमा रहेको केसीलाई बताएका थिए । सो क्रममा उनले मन्त्रालयमा आरके शर्माले आधिकारिकताका लागि निवेदन दिएकोबारे आफ्नो कुरा राखेका थिए । मन्त्री साउदले गैरआवासीय नेपाली संघको अभियान आफ्नो उद्देश्यअनुरुप अघि बढ्न नसकेको भन्दै गम्भीर बन्न केसीलाई सुझाव दिएका थिए । साउदले विवाद समाधान नगरी के कति कारणले विजयी घोषणा गर्दै शपथ लिने काम भयो भन्दै प्रश्न गरेका थिए । तर केसीले स्पष्ट जवाफ नदिइ कुनै धाँधली नभएको भन्दै अअडान राखिराखेका थिए ।

मन्त्री साउदले यसबारे आफूले छिट्टै निर्णय लिने भन्दै केसीलाई दवावमा राखेपछि उनी निराश हुँदै फर्किएको ती पदाधिकारीले भने । ‘मन्त्रीज्यूको कुरा सकारात्मक रहेन । आ–आफ्नो कुरा राख्नुबाहेक अरु कुरा हुन सकेन’, उनको भनाइ थियो । शुक्रबारमात्रै आरके शर्माले आधिकारिकताको दाबी गर्दै मन्त्रालयमा निवेदन दिएका छन् । निवेदनमा विधानअनुरुप विश्व सम्मेलन गरेर आफू अध्यक्ष चयन भएको प्रमाणसहितको डकुमेन्ट पेश भएको छ । यसलगत्तै केसीले मन्त्रीलाई भेटेपनि सकारात्मक जवाफ नपाएका हुन् । केसीले भेरो अनलाइन भोटिङ सिस्टम ह्याक गरेर आफूअनुकल नतिजा पारेको आरोप छ । यसबारेमा अनलाइन निर्वाचन र मतदानको अनुगमन गर्न गठित निर्वाचन अनुगमन समितिले निर्वाचनका क्रममा योजनाबद्ध रुपमा धाँधली गरिएको रिपोर्ट दिइसकेको छ

प्रतिक्रिया दिनुहोस