दशैं अवधिभर मौसम सफा रहने, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

सफल खबर संवाददाता

विहीबार, ०२ कार्तिक २०८०, १४ : १६
दशैं अवधिभर मौसम सफा रहने, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालिको दशैंमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।महाशाखाका मौसमविद् रोजन लामिछानेले दशैंमा मौसम सफा रहने बताए । “दशैंमा मौसम सफा रहने देखिन्छ । देशका पहाडी भेगका एक/दुई स्थानमा बदली र हल्का वर्षा रहेपनि सामान्यतया मौसम राम्रो रहने देखिन्छ”, उनले भने ।

 

महाशाखाले आज साँझ या भोलि शुक्रवार दशैंको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ । मौसमी अवस्थाबारे विज्ञहरूबीच छलफल भइरहेकाले छिट्टै दशैं बुलेटिन आउने मौसमविद् लामिछानेले बताए ।

 

 

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसका कारण अहिले देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङगसहित हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक/दुईस्थानमा मेघगर्जन/चट्याङगसहित हल्का वर्षाको सम्भावना छ ।भोलि शुक्रवार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन/चट्याङगसहित हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस