यूएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

सफल खबर संवाददाता

बुधबार, ०१ कार्तिक २०८०, १२ : ५३
यूएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं। नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।मूलपानी क्रिकेट मैदानमा १ बजे शुरू हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

त्रिकोणात्मक टी–२० आई श्रृंखलाअन्तर्गत नेपालले यूएई र हङकङसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ ।टी–२० विश्वकप अघि तयारीका रुपमा नेपालले यो श्रृंखला खेल्न लागेको हो ।नेपाल क्रिकेट संघ (क्यान)का अनुसार त्रिकोणात्मक श्रृखंलाको फाइनल कीर्तिपुरस्थित त्रिवि मैदानमा र बाँकी खेल मुलपानी क्रिकेट मैदानमा हुनेछन् ।

यस श्रृंखलामा नेपालका सुपरस्टार बलर सन्दीप लामिछाने भने हुनेछैनन् । सन्दीप टी–२० क्रिकेटका लागि अनुभवी मानिन्छन् । उनीसँग इन्डियन प्रिमियर लिग (आईपीएल)लगायत विश्वभरका प्रायः सबै फ्रेन्चाइज लिग खेलेको अनुभव छ । यसर्थ सन्दीप नहुँदा नेपालको खेलमा असर पर्ने तथा टोलीलाई उनको अभाव खड्किने नेपाली टोलीका कप्तान रोहित पौडेलले बताएका छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा रोहितले भने, ‘सन्दीप नहुँदा नेपालको खेलमा असर पर्छ नै । उहाँ कठिन समयबाट गुज्रिरहनुभएको छ । त्यसमा म धैरै जान चाहन्न।’सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोप लगाएकी छिन् । यो मुद्दा अदालतमा विचाराधीन छ ।

पटक–पटक पेशी स्थगित हुँदा सन्दीपले दुःखी हुँदै राष्ट्रिय टोलीबाट केही समयलाई विश्राम लिने घोषणा गरेका हुन् । नेपालले कात्तिक २ र ४ गते हङकङसँग र कात्तिक ६ गते यूएईसँग प्रतिस्पर्धा गर्नेछ । हङकङ र यूएईले कात्तिक ५ र ८ गते एकअर्काको सामना गर्नेछन् । अंक तालिकाको शीर्षमा रहने दुई टोलीले उपाधिका लागि कात्तिक १० गते प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस