इजरायलबाट नेपालीको शव यथाशीघ्र ल्याउन सरकारसँग कांग्रेसको आग्रह

सफल खबर संवाददाता

मंगलबार, २३ असोज २०८०, १५ : ३८
इजरायलबाट नेपालीको शव यथाशीघ्र ल्याउन सरकारसँग कांग्रेसको आग्रह

काठमाडौँ । इजरायल आक्रमणमा परी निधन भएका नेपालीहरुप्रति नेपाली कांग्रेस संसदीय दलले शोक प्रस्ताव पारित गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मंगलबार बसेको दल बैठक शोक प्रस्ताव पारित गरेर सकिएको हो । 

 

बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमासको युद्धबाट प्रभावित नेपालीहरुको अवस्थाबारे जानकारी गराएका थिए । कांग्रेसले इजरायल आक्रमणमा परी निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउन सरकारसँग आग्रह गरेको सांसद प्रदीप पौडेलले बताए ।

 

घाइतेहरूको स्वास्थ्योपचार गर्न, बेपत्ता नेपालीहरूको तत्काल खोजी गर्न र अप्ठ्यारोमा परेका नेपालीहरूको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेको पौडेलले बताए ।

 

उनले घटनाका पीडित एवं पीडित परिवारलाई राहतको व्यवस्था गर्न, स्वदेश फिर्तीको चाहना भएका नेपालीहरूलाई तत्काल फिर्तीका लागि आवश्यक समन्वय र शीघ्र पहलकदमी लिन पनि सरकारलाई आग्रह गरेको बताए । 

 

घटनामा घाइते भएका दाङका प्रविन डाँगी, सल्यानका विधान सेजुवाल र गोरखाका हिमाञ्चल कट्टेलको सरकारको खर्चमा तत्काल उपचारको व्यवस्था मिलाउन माग गरेको छ । साथै सम्पर्कविहीन भएका कञ्चनपुरका विपिन जोशीको तत्काल खोजी गरी उद्धार गर्न समेत कांग्रेस संसदीय दलको बैठकले माग गरेको छ ।

यस्तै कांग्रेसले इजरायल आक्रमणमा घाइते भएकाहरुको सरकारको खर्चमा उपचार गर्न माग गरेको छ । कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकले १० जना नेपाली विद्यार्थीको समेत ज्यान लिने गरी हमासले गरेको आक्रमणको भर्त्सना गरेको छ ।

प्रतिक्रिया दिनुहोस