बाँझोपनको हल्लाले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउन उदासीन

रासस

शनिबार, २० असोज २०८०, १५ : १५
बाँझोपनको हल्लाले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउन उदासीन

काठमाडौँ । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप पाइलटिङका रूपमा दिन सुरु गरे पनि कतै शतप्रतिशत खपत भएको छ,भने कतै खोप लगाउन उदासीन देखिएको छ । गत भदौ २७ गतेदेखि सरकारले सात प्रदेशका प्रमुख अस्पतालबाट २० हजार भाइल एचपीभी खोप दिन सुरु गरेको थियो ।

१४ नाघेका १५ वर्ष नपुगेका साढे ९ हजार किशोरीलाई खोपको दायरामा समेट्ने भनेपनि खोप लगाउन धेरै जना आएनन् । त्यसपछि सरकारले दुई पटक सम्म समयावधि थप गरेको थियो ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल १४ वर्ष उमेर पुगेका ४५ हजार ७ जना किशोरी छन् । तर, सरकारले पाठेघरको क्यान्सर विरुद्धको खोप बारे उचित जानकारी पुर्‍याउन नसक्दा खोप कार्यक्रममा सहभागी नभएको परोपकार प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.श्री प्रसाद अधिकारी बताउँछन् । 

 

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ३ हजार २९ मात्रामध्ये १५ सय मात्रा खोप खपत भएको उनले बताए । यस एचपीभी खोप कार्यक्रमलाई ट्रायल रूपमा बुझ्दा खोप खोप खपत कम भएको उनले बताए । उनले भने, ‘यो खोप लगाउँदा बाँझोपन हुन्छ भन्ने भ्रम समुदायमा हुँदा धेरैजना खोप लगाउन आएएन् । यस कार्यक्रमलाई प्रचार गर्दा नै सम्बन्धित निकायबाट ‘डेमोस्ट्रेसन’ भनिदिँदा धेरैले खोप लगाउन मानेनन् ।’

 

नेपाल प्रत्येक दिन ६ जना महिलालाई क्यान्सर पुष्टि

नेपालमा सन् २०२० पाठेघरका मुखको क्यान्सरका ३ हजार बिरामी पुष्टि भएको थियो । ३ हजार जनाका पाठेघरको मुखको क्यान्सर पहिचान भएका मध्ये २ हजार जनाको सोही वर्ष मृत्यु भएको थियो । यस्तै, विश्वभर ५ लाख ४५ हजार जनामा पुष्टि भएको थियो ।  जसमा ३ लाख ११ जनाको सोही वर्ष मृत्यु भएको थियो । क्यान्सर रोग विशेषज्ञ डाक्टर अरुण शाहीले नेपालमा जुन वर्ष जति जनामा क्यान्सर रोगको पहिचान हुन्छ त्यही वर्ष ७० देखि ८० प्रतिशतको मृत्यु हुन्छ ।  

पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस हो । यस भाइरसका पनि धेरै प्रजातिहरू छन् । पाठेघरको क्यान्सर बनाउने भाइरस भनेको एचपीभी १६ र १८ भएको उनले बताए । ७५ प्रतिशत क्यान्सर एपीभी १६ र १८ ले लाग्ने गर्छ । यस बाहेक ३,११,५३,५५ भाइरसले पनि पाठेघरको मुखको क्यान्सर बनाउन मदत गर्ने उनले बताए ।

विश्व स्वास्थ्य संगठनले पाठेघरको क्यान्सरविरुद्ध लड्न लागि सरकारी र निजी क्षेत्रको समन्वय आवश्यक पर्ने बताउँदै आएको छ । पाठेघरको मुखको क्यान्सरविरुद्ध लड्न खोपको व्यवस्थापन गरी यसलाई नेपालबाट निर्मूल गर्न सकिने शाहीले बताए ।

सबैभन्दा पहिला ९० प्रतिशत ९–१५ वर्ष मुनिका किशोरीहरूलाई एचपीभी खोप दिन आवश्यक छ । जसलाई खोप लगाउन सकिँदैन उनीहरूलाई २१ वर्षपछि स्क्रिनिङ गर्नुपर्ने उनले बताए ।

क्यान्सर लगेपछि स्टेज फोरमा पुगेपछि उपचार सम्भव छैन भनिएपनि पाठेघरको मुखको क्यान्सर स्टेज फोरसम्म उपचार गर्न सकिने उनले बताए । ह्युमन प्यापिलोमा भाइरस यौन सम्पर्कबाट सर्ने गर्छ । ह्युमन प्यापिलोमा भाइरसले पाठेघरको मुखको मात्रै क्यान्सर बनाउँछ भन्ने धेरैलाई लागेको हुन सक्छ । तर यस भाइरसले ४० भन्दा धेरै रोग लाग्ने उनले बताए ।

उनले भने, ‘ह्युमन प्यापिलोमा भाइरस सङ्क्रमण हुँदा बित्तिकै सबैमा रोग लाग्छ भन्ने हुँदैन । १० जनामा सङ्क्रमण भएमा यस भाइरसले गर्दा १ जनामा पाठेघरको मुखको क्यान्सर हुन सक्छ ।’ 

 

पाठेघरको मुखको क्यान्सर हुन १० देखि १५ वर्ष लाग्ने भएकाले सरकार निजी क्षेत्रको सहकार्यमा एचपीभी खोपको तत्काल व्यवस्था गर्न आवश्यक रहेको उनले बताए । खोपको लगाउन नमिल्नेलाई स्क्रिनिङको व्यवस्था गरी रोग पहिचान भएमा तत्काल उपचार व्यवस्था गरी यसलाई कम गर्न सकिने उनले बताए ।

पाठेघरको मुखको क्यान्सर हुन नै नदिनका लागि एचपीभी खोप लगाउन आवश्यक रहेको उनले बताए । ‘यो खोप लगाएमा क्यान्सरका हुँदैन भए पनि कम हुन्छन् भएका कम बिरामीको राम्रो उपचार पाउँछन्’ उनले भने, ‘खोप स्क्रिनिङ उपचार भन्दा पनि महत्त्वपूर्ण छ ।’ 

कति किसिमका खोप उपलब्ध छ ?

ह्युमन प्यापिलोमा भाइरसका धेरै किसिमका प्रजातिहरू छन् । नेपालमा पाठेघरको क्यान्सर बनाउने भनेको १६ र १८ प्रजाति भएको पाइएको छ । 

 

त्यसैले सुरुमा खोप निर्माण गर्ने कम्पनीहरूले १६ र १८ प्रजातिका विरुद्धमा खोप बनाएका थिए । पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप सुरुमा ‘सर्भेक्स’ विकास गरिएको थियो । हाल बजार भएको सिकोलेन खोप हो । जसलाई डब्ल्यूएचओले प्रमाणीकरण गरिसकेको छ । डब्ल्यूएचओले मान्यता दिएको खोपहरूलाई ढुक्क भई लगाउन उनको आग्रह छ ।  यस्तै, गाडासेलले ६, ११, १६ र १८ प्रजातिलाई काम गर्ने उनले बताए । डब्ल्यूएचओले पाठेघरको मुखको क्यान्सर विरुद्ध यी एचपीभी खोपहरूलाई मान्यता दिएकाले ढुक्क भएर लगाउन आग्रह गरेको छ ।

एचपीभी खोप फरक फरक कम्पनीको लगाउन हुन्छ ?  

डा. शाहीका अनुसार ९ देखि १४ वर्ष समूहकाले खोप लगाएको ६ महिनादेखि १ वर्षको बिचमा दोस्रो मात्रा खोप लगाउनुपर्छ  ।  १६ वर्षभन्दा माथिकाले एचपीभी खोप लगाएमा पहिलो दोस्रो र तेस्रो मात्रा खोप लगाउनुपर्छ । यद्यपि नेपालमा सुरुमा ९देखि १५ वर्षसम्मकालाई लगाइदिने रणनीति बनाएको छ । 

विभिन्न अध्ययनहरूले एचपीभी खोप नलगाउन भन्दा १ मात्रा लगाए पनि राम्रो हुन्छ । एक मात्रा एचपीभी खोपले ३ वर्षसम्म काम गर्ने अध्ययनहरूले देखाएको छ । यस कारणले पहिलो मात्रा खोप लगाएर दोस्रो मात्रा ६ महिना पछि उपलब्ध नभएको खण्डमा तीन वर्षसम्म अत्तिनुनपर्ने उनले बताए । त्यसपछि दोस्रो,तेस्रो मात्रा लगाउन सकिने उनले बताए ।

यस्तै, डब्ल्यूएचओबाट मान्यता प्राप्त खोप पहिलो मात्रा एचपीभी खोप लगाएर  दोस्रो मात्रा त्यही खोप उपलब्ध नभएका खण्डमा डब्ल्यूएचओले मान्यता दिएको अर्को कम्पनीको खोप पनि लगाउन सकिने डा.शाहीले बताए ।  उनले भने, ‘उपलब्ध भएसम्म एउटै कम्पनीको खोप लगाउनुपर्छ । यदि नभएको खण्डमा मान्यता प्राप्त अर्को कम्पनीको खोप लगाउन सकिन्छ ।’ 

 

एचपीभी खोप क–कसले नलगाउने ?

पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप गर्भवती महिलाले लगाउन नहुने डा.शाहीले बताए । जसलाई पहिलो मात्रा खोप लगाउँदा सिभियर एल्र्जी भएमा, अंग प्रत्यारोपण गरेका व्यक्तिले पनि एचपीभी खोप लगाउन नहुने उनले बताए । बजारमा एचपीभी खोप व्यापारीकणका लागि लगाउने ४०–५० वर्षसम्म पनि लगाउन मिल्छ भनेर प्रचार गरिए पनि २६ वर्षभन्दा माथिका उमेर समूहलाई जुन खोप लगाए पनि काम नगर्ने उनले बताए ।  एचीपीभी खोपले ९९ प्रतिशत काम गरे पनि कसैलाई नगर्न पनि सक्ने भएकाले पछि स्क्रिनिङ गर्नुपर्ने उनले बताए । २१ वर्षको उमेरपछि स्क्रिनिङ गर्न उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस