उपप्रधानमन्त्री श्रेष्ठ र एमसीसीकी सीईओ अल्ब्राइटबीच भेटवार्ता

सफल खबर संवाददाता

मंगलबार, १६ असोज २०८०, १४ : ४६
उपप्रधानमन्त्री श्रेष्ठ र एमसीसीकी सीईओ अल्ब्राइटबीच भेटवार्ता

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी सहयोग परियोजना एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटबीच भेटवार्ता भएको छ ।​सीईओ अल्ब्राइट र उनको टोलीलाई मंगलवार मन्त्रालयमा स्वागत गर्दै मन्त्री श्रेष्ठले पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालको सरकार जनताको आर्थिक–सामाजिक विकासको ऐतिहासिक जिम्मेवारी पूरा गर्नेमा केन्द्रित रहेको बताए ।

साथै एमसीसी जस्ता परियोजनाको सफल कार्यान्वयनले त्यसमा योगदान दिने उनले विश्वास व्यक्त गरे ।नेपालको संसद्‌ले नै एमसीसी परियोजना पारित गरेकाले यसको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको मन्त्री श्रेष्ठको भनाइ थियो ।

परियोजनाको लागि जग्गा अधिग्रहण गर्ने र समग्र सुरक्षाको प्रत्याभूति गराउने काममा गृह मन्त्रालय लागेको समेत उनले बताए । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जग्गा अधिग्रहणमा सहजीकरण गरिरहेको र परियोजना सुरक्षाको लागि कुनै कमी नहुने उनले विश्वास दिलाए ।

 

एमसीए नेपालसँग परियोजना प्रगतिको पछिल्लो अवस्थाबारे आफूले जानकारी लिएको समेत उपप्रधानमन्त्री श्रेष्ठले बताए ।त्यस क्रममा सीईओ अल्ब्राइटले पाँच वर्षमा एमसीसी परियोजना सक्नैपर्ने भएकोले यसको कार्यान्वयनमा नेपाल सरकार र सरोकारवाला सबै पक्ष प्रतिबद्ध भएर लागेकोमा खुशी व्यक्त गरिन् ।

 

एससीसी कार्यान्वयनको जिम्मेवारी एमसीए नेपालको रहेको र यो नेपाल सरकार अन्तर्गतको संरचना रहेको उनले बताइ थियो । परियोजनाको समयभित्रै सफल कार्यान्वयनका लागि आफूहरू नेपाल सरकारका सरोकारवाला निकायहरूसँग निरन्तर समन्वयमा रहेको समेत उनले बताइन् ।​

एमसीसी अमेरिकी वैदेशिक सहयोगको महत्त्वपूर्ण अंग भएको र यसको कार्यान्वयनले नेपाल–अमेरिका सम्बन्ध थप प्रगाढ हुने विश्‍वास सीईओ अल्ब्राइटको थियो ।

प्रतिक्रिया दिनुहोस