झापाबाट आजदेखि ‘समाजवादी जागरण यात्रा’, ५० लाख खर्च हुने

सफल खबर संवाददाता

आइतबार, १४ असोज २०८०, ०८ : १४
झापाबाट आजदेखि ‘समाजवादी जागरण यात्रा’, ५० लाख खर्च हुने

काठमाडौ ।  नेकपा (एकीकृत समाजवादी)ले ‘समाजवादी जागरण यात्रा–२०८०’ मेची–महाकाली अभियान आइतबारदेखि सुरु गर्दैछ ।

 २९ गतेसम्म गर्न लागेको अभियान झापाको काँकडभिट्टास्थित मेची नदीबाट सुरु हुने  प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।  अभियानअन्तर्गत मेचीबाट महाकालीसम्मका सबै प्रदेशका प्रमुख सहरमा करिब ४० सभा तथा सम्मेलन हुने उनले बताए । पार्टीका शीर्षनेता तथा कार्यकर्ताको सहभागितामा रहने अभियानको आइतबार पार्टीका अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गर्नेछन् ।

अभियानमा साना–ठूला कोणसभा, आमसभा, जनतासँग अन्तक्र्रिया गरिनेछ । कलाकारले सडक नाटक मञ्चन गर्ने उक्त अभियानका लागि मञ्च सजावट तथा अतिथि व्यवस्थापनलगायत सबै कार्य पूरा गरिएको  उनले जानकारी दिए । पार्टीका वैचारिक दृष्टिकोण जनताका बीच लैजान गरिने अभियानमा यस अवधिमा करिब रु ५० लाख खर्च हुने उनले जानकारी दिए । 

सोह्र दिनसम्म चल्ने यात्राका क्रममा पार्टीका शीर्षनेता सहभागी हुने कार्यक्रम छ । पहिलो दिन १४ असोजमा काकडभिट्टा, बिर्तामोड, दमक, उर्लाबारी वा पथरीमध्ये एक ठाउँ, विराटचोक मोरङमा सभा हुनेछ ।

यसैगरी १५ गते इटहरी, इनरुवा, भारदह, राजविराजमा सभा हुनेछ । त्यस्तै १६ असोजमा राजविराज, छिन्नमस्त, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहामा सभा आयोजना हुने कार्यक्रम रहेको छ । त्यस्तै १७ असोजमा जनकपुरमा पत्रकार सम्मेलन हुने र त्यसपछि सोही दिन जलेश्वर, ढल्केबर, बर्दिबास र लालबन्दीमा सभा हुनेछ । १८ असोजमा गरुडा, हर्नैया, कलैया र वीरगन्जमा सभा हुनेछ । त्यस्तै १९ असोजमा पथलैया, हेटौँडा, मनहरी, भण्डारा र भरतपुरमा सभा आयोजना हुनेछ ।

असोज २० मा कावासोती, बर्दघाट र परासी तथा २१ असोजमा भैरहवा र बुटवलमा सभा आयोजना हुनेछ । त्यस्तै सैनामैना, चन्द्रौटा, भालुवाङ, लमहीमा २२ असोजमा र घोराही, तुल्सीपुर र कोहलपुरमा २३ असोजमा सभा आयोजना हुनेछ ।

अभियानअन्तर्गत २४ असोजमा नेपालगन्ज, खजुरा, मैनापोखरा र गुलरियामा तथा २५ असोजमा राजापुर र टीकापुरमा सभा गर्ने एकीकृत समाजवादीको कार्यतालिका छ । त्यस्तै २६ असोजमा लम्की, सुख्खड, अत्तरिया र धनगढी तथा २७ असोजमा पुनर्वास, झलारी, लालपुर र महेन्द्रनगरमा सभा हुनेछ भने २८ असोजमा छिन्चु र २९ गते सुर्खेतमा अभियानअन्तर्गतका सभा आयोजना हुने पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस