एमाले बागमती प्रदेश कमिटीको आकार बढ्यो : बेलुका चार बजेबाट मतदान सुरु

सफल खबर संवाददाता

विहीबार, ११ असोज २०८०, १४ : १०
एमाले बागमती प्रदेश कमिटीको आकार बढ्यो : बेलुका चार बजेबाट मतदान सुरु

काठमाडौँ । चार दिनदेखि जारी नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको मतदान आज (बिहीबार) बेलुका चार बजेबाट सुरु हुने भएको छ ।  निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीकाअनुसार बिहीबार दिउँसो ४ बजेबाट मतदान गर्ने कार्यतालिका बनेको छ ।

‘चार बजेबाट मतदान गर्ने तालिका तय भएको छ । अब सो समयमा मतदान हुन्छ’, मैनालीले रातोपाटीसँग भने, ‘पाँच दश मिनेट वरपर हुने बेग्लै कुरा हो, नत्र अब अर्को समय निर्धारण हुँदैन ।’नेकपा एमालेले प्रदेश कमिटीको आकार पनि बढाएको छ । यसअघि पाँच पदाधिकारीसहित २४० सदस्यीय प्रदेश कमिटी बनाउने निर्णय गरेको एमालेले ५ सङ्ख्या बढाएर २४५ बनाउने भएको छ ।

‘क्लस्टरमा मिलेको थिएन । आदिवासी, जनजाति र पिछडिएको वर्गबाट ५ सदस्य थपिने भएका छन्’, प्रमुख निर्वाचन अधिकृत मैनालीले भने, ‘क्लस्टर मिलाउँदा सङ्ख्या बढेको हो ।’वामगती प्रदेश कमिटीको अध्यक्षमा पाँच जनाले उम्मेदवारी दर्ता गरेका छन् । कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल, सानु श्रेष्ठ, केशर बुढाथोकी र केशवराज पाण्डेले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

एमाले नेतृत्वले सहमतिमै प्रदेश कमिटी चयन गर्न गरेको प्रयास असफल भएपछि आकाङ्क्षीहरूले उम्मेदवारी दर्ता गरेका हुन् । अध्यक्षमा पाँच जनाले उम्मेदवारी दर्ता गरे पनि अन्तिम प्रतिस्पर्धा ढुङ्गेल र दाहालबीच हुने प्रतिनिधिहरूको अनुमान छ । यद्यपि निर्वाचन मण्डलले अध्यक्षमा ढुङ्गेल र दाहालका बीचमा पनि सहमति खोज्ने प्रयास जारी राखेका छन् । अध्यक्ष मण्डलका सदस्य रामेश्वर फुयाँलले मतदान र सहमति दुवै प्रक्रिया सँगसँगै अघि बढेको बताए । 

‘दुबै प्रयास जारी छन्’, फुयाँलको भनाइ छ । मतदानमा ढिलाइ हुँदा अध्यक्षका दुई आकाङ्क्षी ढुङ्गेल र दाहालले अघोषित रूपमा प्यानल बनाएर मत मागिरहेका छन् ।  स्रोतका अनुसार कैलाश ढुङ्गेलले उपाध्यक्षमा दावा दोेर्जे शेर्पालाई  अघि सार्दा ईश्वर चन्द्र पोखरेल चिढिन पुगेका छन् । त्यस्तै ढुङ्गेल समूहबाट सचिव हस्त पण्डित रहेका छन् ।  

दाहालले भने उपाध्यक्षमा नारायण खतिवडालाई सघाउने बचन दिएको बुझिएको छ । त्यस्तै सचिवमा रत्ना गुरुङलाई अघि सारेको पनि बुझिएको छ । यसअघि एकीकृत समाजवादीबाट एमाले फर्किएका सुवास कर्माचार्यलाई महासचिव शंकर पोखरेलले प्रदेश सचिव बनाउने वचन दिएका थिए । तर, अहिले चुनाव हुने भए नउठनू भन्ने निर्देशन दिएकाले उनी पछि हटेको निकटस्थहरू बताउँछन् ।

सुवासका नाममा सचिव सर्वसम्मत नभएपछि गोकुल बाँस्कोटाले स्ट्याटस नै लेखेको प्रतिनिधिहरुबीच चर्चा छ । दाहाल समूहबाट सचिवमा नवराज सिलवाल उठेको प्रतिनिधिहरुबीच चर्चा छ । दुवै समूहमा उपसचिवमा भने प्यानल छुटिएको छैन । ‘उपसचिवमा कसैले पनि प्यानलमा नसमेट्ने जसले जित्छ उसैलाई आफ्नो प्यानलको दाबी गर्ने तयारी छ’, एक एमाले नेताले भने, ‘डामाडोल अवस्थामा को कसको प्यानल भन्ने छुट्याउन नै गाह्रो छ ।’ ढुंगेललाई एमाले नेता महेश बस्नेत र दाहाललाई गोकुल बाँस्कोटाको समर्थन रहेको बताइन्छ ।

यसैबीच अध्यक्षमा पाँचजनाको उम्मेदवारी दर्ता गरिएको बताइए पनि प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले चार जनाको मात्रै अध्यक्षमा उम्मेदवारी दर्ता भएको बताए। उनले भने, ‘कैलाश ढुंगेल, कृष्ण दाहाल, केशव बुढाथोकी र सानु श्रेष्ठको मात्र उम्मेदवारी निर्वाचन कमिटीमा दर्ता भएको  छ ।’ तर बुधबार बेलुका आफूले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको दाबी केशवराज पाण्डेले बताए । निर्वाचन कमिटीको सार्वजनिक लिष्टमा पनि अध्यक्ष पाण्डेले पाँचसय दस्तुर तिरेर उम्मेदवारी दर्ता गरेको देखिन्छ । 

प्रतिक्रिया दिनुहोस