इराकमा विवाह स्थलमा आगलागी हुँदा १०० जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १० असोज २०८०, १२ : ०१
इराकमा विवाह स्थलमा आगलागी हुँदा १०० जनाको मृत्यु

काठमाडौं । इराकमा एक वैवाहिक समारोहमा आगो लाग्दा एक सय जनाको मृत्यु भएको छ । १५० जनाभन्दा बढी घाइते छन् ।इराकको उत्तरी निनेवेह प्रान्तको अल हमदानिया जिल्लामा मंगलबार राति स्थानीय समय अनुसार १०ः४५ बजे यो घटना भएको हो । आगलागीको कारण खुलेको छैन ।

यद्यपि पटाका पड्काएपछि आगो लागेको अनुमान छ । त्यतिबेला दर्जनौं मानिसहरु विवाहको उत्सवमा रमाइरहेका थिए ।इराकको नागरिक सुरक्षा निर्देशनालयका अधिकारीहरुले विवाह स्थल निर्माणमा कमसल खालका सामग्री प्रयोग गरिएकाले आगो तीव्ररुपमा फैलिएको र धेरै क्षति भएको बताएका छन् ।

इराकको समाचार एजेन्सी निनाले घटनास्थलको फोटो सार्वजनिक गरेको छ । त्यसमा अग्निनियन्त्रकहरु आगो निभाउन खटिएको देखिएको छ । सामाजिक सन्जालमा पनि आगोले क्षति पुर्याएका तस्वीरहरु सार्वजनिक भएका छन् ।

प्रतिक्रिया दिनुहोस