भरतपुर र माडीमा सामूहिक बलात्कार, सात जना पक्राउ

हिरालाल आचार्य ‘डायमण्ड’

सोमबार, ०४ भदौ २०७५, १६ : २५
भरतपुर र माडीमा सामूहिक बलात्कार, सात जना पक्राउ

चितवन । एक जना १७ वर्षीया किशोरीलाई दिनभर म्याजिक भ्यानमा घुमाएर साँझमा सामुहिक बलात्कार गरेको आरोपमा १७ वर्षदेखि ३५ वर्षसम्मका पाँच जना पक्राउ परेका छन् । बलात्कृत किशोरीले जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएपछि म्याजिक भ्यानका चालकसहित पाँच जना पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार, किशोरीलाई सामान्य चिनजानका १७ बर्षीय किशोरले गत साउन ३० गते बुधबार नारायणगढ पुलचोक पु¥याइदिने भन्दै आफू सहचालक भएको म्याजिक गाडीमा चढाएर दिनभर साथमा राखेका थिए । त्यसपछि रातको समयमा सामान्य चिनजानका किशोर र म्याजिकका चालकसहित पाँच जना मिलेर भरतपुर ११ स्थित डीएसएम मिनरल वाटर कम्पनीमा पु¥याई आफूलाई सामुहिक रुपमा जबरजस्ती करणी गरेको भनी पीडित किशोरीले लिखित जाहेरी दरखास्त पेस गरेपछि आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ पर्नेमा गैँडाकोट नगरपालिका ४ बस्ने बर्ष २१ का युवराज सारु मगर,  गैंडाकोट २ बस्ने बर्ष १९ का सैन्थील धिमाल, भरतपुर महानगरपालिका ११ बस्ने बर्ष २० का आकाश थापा, भरतपुर २९ बस्ने बर्ष ३५ का अर्जुन बि.क. र अर्का १७ बर्षीय किशोर रहेका छन् । पक्राउ परेका निज व्यक्तिहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ढकालले जानकारी दिनुभयो ।  

यसैगरी माडी ३ बगौडामा १५ वर्षकी किशोरीमाथि जबर्जस्ती करणी गर्ने दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन माडी ३ बस्ने २३ वर्षका रामप्रताप महतो र सोही ठाउँका २४ वर्षका नवराज महतो रहेका छन् ।

प्रतिक्रिया दिनुहोस