काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले प्रधानमन्त्रीको चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण मिनाहाको सम्बन्धमा छलफल हुनुपर्ने बताएका छन् ।
शुक्रबार पार्टीको केन्द्रीय समिति बैठकमा उनले कांग्रेस प्रमुख सत्तारुढ दल भएकोले यसबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुपर्ने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजदेखि चीनको ८ दिने भ्रमणमा जाँदैछन् ।
नेता बरालले एयरपोर्ट निर्माणपछि महँगो ब्याज तिर्नुपरेको भन्दै ऋण मिनाहा नभए एक दिन चीनले विमानस्थलमा कब्जा जमाउने दिन आउन सक्ने बताए ।‘हामीले पोखरामा अन्तर्राष्ट्रिय एयरपोर्ट महँगोमा बनायौँ, अहिले चर्को ब्याज तिरिरहेका छौँ,’ उनले भने,‘प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ, हामीले अभिभावकत्व लिएर प्रधानमन्त्रीलाई भन्नुपर्छ र भ्रमणमा ऋण मिनाहा गर्नेबारे पहल लिनुपर्छ ।’
ऋण तिर्न नसके अरू मुलुकमा जस्तै विदेशीको हस्तक्षेप हुने निश्चित रहेको उनको भनाइ थियो । यस्तै उनले सुशासनका लागि कांग्रेस अघि बढ्न जरुरी रहेको बताए ।
चाडपर्वको मुखमा महँगी र कालोबजारी बढेको र उपभोक्ता मन्त्रालय कांग्रेससँग हुँदा पनि जनता महँगीमा पिल्सिएको बताए । ‘सरकारमा हाम्रो पनि साझेदारी छ, आपूर्तिमन्त्री हाम्रै पार्टीको हुनुहुन्छ,’ उनले भने, ‘बजारको कालोबजारी कसले रोक्ने हो ?’
चाडबाडको बेलामा महँगी र ठगी मौलाउने भन्दै सरकारले तुरुन्तै अनुगमन र नियन्त्रण गर्न आवश्यक रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ असोज २०८०, १४ : १८
लेखकबाट थप