संघीयता कांग्रेसलाई मन परेको छैन भने हटाइदिउँ : जीवनबहादुर शाही​​​

सफल खबर संवाददाता

शुक्रबार, ०५ असोज २०८०, १३ : ४०
संघीयता कांग्रेसलाई मन परेको छैन भने हटाइदिउँ : जीवनबहादुर शाही​​​

काठमाडौं। कांग्रेस केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले संघीयताप्रति पार्टीको धारणा नै सकारात्मक नभएको भन्दै मन नपरे हटाउन चुनौती दिएका छन् ।केन्द्रीय समितिको बैठकमा बोल्दै शाहीले प्रदेशको समिति, सरकार, मन्त्री र सांसदलाई हेर्ने र टिप्पणी गर्ने दृष्टिकोण नै गलत रहेको बताएका हुन् ।

 

‘संघीयताबारे हाम्रो पार्टीको धारणा के हो ? हाम्रा प्रदेशमा सभापति र पूर्व मुख्यमन्त्रीले पनि हिजो आवाज उठाउनुभयो । हाम्रो पार्टीलाई संघीयता मन परेको छैन भने हटाइदिएँ’ शाहीले भने, ‘विनाकारण मुख्यमन्त्री, मन्त्री भनेको छ । चाहिएको छैन भनेर हटाइदिए हुन्छ । हाम्रो प्रदेश समितिलाई कामकाजी बनाउँ नभए नराखौं ।’

 

संविधानले ३१ वटा आधारभूत अधिकारको कुरा भने पनि सरकारले यी विषयलाई प्राथमिकतमा नराखेको उनको भनाइ छ ।‘संविधान बनायौं तर हामीले नै उलघंन गरिरहेका छौं । हुम्ला जुम्ला, डोल्पामा खाद्य संकट आउँदैछ ।

आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्दा हामीले कति मुद्दाको सामना गर्नुपर्ने हो ? संविधानले अधिकार दिएको छ तर व्यवहारमा छैन ।’ शाहीले भने । प्रदेशलाई हेर्ने केन्द्रको दृष्टिकोणप्रति व्यंग्य गर्दै शाहीले सांसदलाई ‘माननीय’ होइन ‘हाननीय’ भनेर हटाइदिन पनि माग गरे । शिक्षकका जायज मागलाई पूरा गर्न पनि उनको माग छ  ।

प्रतिक्रिया दिनुहोस