विदेशमा कार्यरत ३ लाख १९ हजार श्रमिक सामाजिक सुरक्षामा

सफल खबर संवाददाता

आइतबार, २४ भदौ २०८०, १५ : ४५
विदेशमा कार्यरत ३ लाख १९ हजार श्रमिक सामाजिक सुरक्षामा

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली युवामध्ये हालसम्म ३ लाख १९ हजार श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा योजना आबद्ध भएका छन् । गत चैतदेखि सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने योजना कार्यान्वयनमा ल्याएपछि सो संख्यामा श्रमिक आबद्ध भएका हुन् । यसरी आबद्ध भएका श्रमिकले हालसम्म ५९ करोड २८ लाख रुपैयाँभन्दा बढी योगदान रकम जम्मा गरेको सामाजिक सुरक्षा कोषले जनाएको छ ।

यो योगदान रकममध्ये वृद्धावस्था सुरक्षा योजनामा ३८ करोड ५९ लाख र दुर्घटना तथा असक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा २० करोड ७५ लाख रुपैयाँ संकलन भएको कोषले जनाएको छ । कोषका सहप्रवक्ता रोहित रेग्मीले एक महिनामै योगदान रकम लगभग १० करोड रुपैयाँका दरले संकलन भइरहेको बताए । ‘रकम संकलन मात्र नभई योजनामा आबद्ध हुने दरसमेत बढेको छ,’ रेग्मीले कारोबारसँग भने, ‘विदेश जाने श्रमिकको संख्या बढेसँगै योगदान र श्रमिक पनि बढ्दै जाने देखिन्छ ।’

विदेश रहेका श्रमिकलाई समेत योजनामा आबद्ध गराउन जनचेतनाको काम भइरहेको कोषले जनाएको छ । सरकारले चैत ८ गतेदेखि वैदेशिक रोजगारी र विदेशमा स्वरोजगार रहेका नेपालीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्धता गर्न सुरु गरेयता सो संख्यामा श्रमिक आबद्ध भएको सामाजिक सुरक्षा सहप्रवक्ता रेग्मीले जानकारी दिए । सरकारले वैैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगार रहेका नेपालीलाई योजनामा सहभागिता गराउन प्रमुख श्रम गन्तव्यका नियोगलाई समेत अनुरोध गरेका कारण योगदानकर्ता बढ्ने कोषले जनाएको छ ।

कोषमा जम्मा हुने रकमको सुरक्षाका सम्बन्धमा धेरै श्रमिकमा भ्रम रहेको कोषको बुझाइ रहेको छ । हालसम्म सूचीकरण भएकामध्ये अधिकांश वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिन आवेदन दिएका श्रमिक रहेका छन् । सरकारले औपचारिक क्षेत्रका श्रमिक मात्रै योजनामा समावेश गर्दै आएकोमा चैत पहिलो साताबाट वैदेशिक रोजगारीमा रहेका सबै श्रमिकलाई योजनामा सामेल गराउन सुरु गरेको थियो । सरकारले वैदेशिक रोजगारीमा रहेका र जाने तयारी गरेका श्रमिकको सुरक्षाका लागि योजनालाई अनिवार्य गरेको हो ।

नयाँ जाने श्रमिकले श्रम स्वीकृतिकै क्रममा योजनामा अनिवार्य आबद्ध हुने गरेका छन् । वैदेशिक रोजगारी जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिकले श्रम स्वीकृति लिने बेला र श्रम स्वीकृति नवीकरण गर्ने बेलामा योजनामा समावेश हुन सक्ने छन् । यसैगरी नवीकरण गर्ने बेला नभएकाहरू पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको सहकार्यमा तयार गरिएको अनलाइन प्रणालीमार्फत सूचीकृत हुन सक्ने गरी व्यवस्था गरिएको छ । योजनामा समावेश हुने श्रमिकले मासिक २ हजार रुपैयाँ बुझाउनुपर्ने छ ।

रकम एकमुस्ट बुझाए जम्मा गरेको रकममा १० प्रतिशत छुट पाइने कोषले जनाएको छ । यो रकम खल्ती, ईसेवा र कनेक्ट आईपीएसमार्फत जम्मा गर्ने व्यवस्था मिलाइएको कोषले बताएको छ । कोषले वैदेशिक रोजगारीमा रहेका २२ लाख श्रमिकलाई कोषमा समेट्ने तयारीसहित योजना सुरु गरेको जनाएको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकले योगदान गरेको रकम दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा ७.४८ प्रतिशत र वृद्ध अवस्था सुरक्षा योजनामा १३.८५ प्रतिशत छुट्ट्याइने प्रावधान रहेको छ ।

योगदानकर्ताले निवृत्तिभरण योजनामा जम्मा भएको रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल योगदान रकम एकमुस्ट लिने वा सो रकमलाई १ सय ६० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना जीवनकालभर निवृत्तिभरण लिने गरी रोज्न पाउनेछन् । यसका साथै योगदानकर्ता दुर्घटनामा परेर अस्पताल भर्ना भए १ लाख रुपैयाँसम्म उपचार खर्च पाउँछन् । कोषले उपचारको ८० प्रतिशत वा प्रतिवर्ष १ लाख रुपैयाँ पाउने जनाएको छ ।

विदेशमा रहेका श्रमिक आबद्ध भएपछि योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले निवृत्तिभरण, सन्ततिलाई शैक्षिक वृत्ति र अन्तिम संस्कार खर्च पाउने कोषले जनाएको छ । जुनसुकै कारणबाट मृत्यु भएमा पनि न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशतका दरले जीवनभर निवृत्तिभरण पाउने जनाइएको छ । वैदेशिक रोजगारी अन्त्य भएपछि एकमुस्टसमेत रकम लिने वा निवृत्तिभरण योजनामा रोज्ने विकल्प हुनेछ ।

प्रतिक्रिया दिनुहोस