गृहमन्त्री श्रेष्ठलाई नेविसंघ अध्यक्ष शेर्पाको २४ घण्टे अल्टिमेटम

सफल खबर संवाददाता

विहीबार, २१ भदौ २०८०, ११ : २९
गृहमन्त्री श्रेष्ठलाई नेविसंघ अध्यक्ष शेर्पाको २४ घण्टे अल्टिमेटम

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संघ नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले पार्टी सहमहामन्त्री महेन्द्र यादवमाथिको सांघातिक आक्रमण केवल एउटा नेतामाथि भएको आक्रमण नभएको बताएका छन् । उनले उक्त आक्रमणलाई प्रेस स्वतन्त्रता, तोकतन्त्र र कांग्रेसमाथिको आक्रमण भनेका छन् । देशका हरेक नागरिकले स्वतन्त्र रुपमा बोल्न पाउने, हिँड्न पाउने अधिकारमाथि आक्रमण भएको उनले बताए ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजधानीकै अति सार्वजनिक स्थलमा पनि शान्ति सुरक्षाको प्रत्याभूति गराउन नसकेको उनको आरोप छ । ‘नेविसंघले गृहमन्त्रीको राम्रो कुरालाई उहाँलाई बधाई पनि दिएका छौं । धन्यवाद पनि दिएका छौं । आज उपत्यका लगायत देशभरी धेरै जनाले आत्महत्या गरिरहेका छन् । महिलाहरु सहज रुपमा हिँड्नसक्ने अवस्था छैन । आज दिनदहाडै काठमाडौंका मुटु भृकुटीमण्डपमा आक्रमण भयो । यो कुरा नेविसंघलाई सह्य हुँदैन । आम नेपाली जनतालाई सुरक्षाको प्रत्याभूति गराउने गृह प्रशासन होईन ?’ उनले प्रश्न गरे ।

कांग्रेस सहमहामन्त्रीमाथि भएको आक्रमण योजनावद्ध रुपमा भएको उनको दाबी छ । यसका पछाडिका खेलाडीले देशमा द्वन्द्व फैलाउन चाहेको उनले बताए । उनले उक्त घटनाका बारेमा गृहमन्त्रीले स्पष्टीकरण दिन आवश्यक रहेको बताए ।

‘यो पूरै षड्यन्त्रका साथ प्लानिङ गरिएको हो । यो प्लनिङमा पर्दा पछाडिको खेलाडिहरु को–को छ ? त्यो पर्दा पछाडिको खेलाडीहरुलाई तत्काल २४ घण्टाभित्र गृहमन्त्रीले स्पष्टीकरण दिनुपर्यो । तिनीहरुले द्वन्द्व फैलाउन खोजिरहेको छ, नेपाली समाज जहिले पनि मिलेर बसेको समाज हो,’– उनले भने ।

नेपाली समुदायलाई विभाजन गर्न कांग्रेसमाथि प्रहार गरियो भने लोकतन्त्रमाथि प्रहार हुन्छ भनेर योजनावद्ध तरिकाले प्रहार भएको उनको दाबी छ । उक्त घटनाको पर्दा पछाडीका खेलाडीलाई कारबाही गरिएन भने गृहमन्त्रीको विरुद्धमा नेपालभरी शान्तिपूर्ण आन्दोलन गर्ने उनले चेतावनी दिए ।

‘२४ घण्टाभित्र त्यो पर्दा पछाडिको खेलाडीलाई कारबाही गरिएन भने हामी गृहमन्त्रीको विरुद्धमा नेपालभरी नेविसंघले आन्दोलन गर्नेछ । शान्तिपूर्ण हुन्छ हाम्रो आन्दोलन । हाम्रो आन्दोलनमा नागरिक समाज, पत्रकार, मानव अधिकारवादीहरुको साथ हुन्छ ।’ उनले भने, ‘हामी देशभरी गृहमन्त्रीले राजीनामा नदिउन्जेलसम्म आन्दोलन रोकिँदैन ।’

प्रतिक्रिया दिनुहोस