१० दिनपछि भेटियो सप्तकोशी पुलमा कार छाडेर बेपत्ता डाक्टरको शव

सफल खबर संवाददाता

बुधबार, २० भदौ २०८०, ११ : ४०
१० दिनपछि भेटियो सप्तकोशी पुलमा कार छाडेर बेपत्ता डाक्टरको शव

विराटनगर। सप्तकोशी पुलमा कार छोडेर बेपत्ता डा. प्रज्जवल कोइरालाको १० दिनपछि शव भेटिएको छ । दमक-१ घर भई मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत ३२ वर्षीय सर्जन डा. कोइरालाको शव मंगलबार अपराह्न फेला परेको हो।

उनको शव बराहक्षेत्र नगरपालिका-२ स्थित कोसीको भँगालोमा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए । उनका अनुसार कोशीमा माछा मार्नेहरूले शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

आफन्तले शवको पहिचान गरेपछि पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको उनले बताए ।उनी भदौ १० गते राति सप्तकोशी नदीको पुलमा कार छोडेर बेपत्ता भएका थिए । सप्तकोशी नदीको पुलमा उनको जुत्ता, मोजा र मोबाइल भेटिएको थियो।उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।