बुटवल। गुल्मीको मालिका गाउँपालिका वडा नम्बर–७ स्थित देवीस्थान माविमा कार्यरत शिक्षक यमलाल पन्थी वडाध्यक्षबाट कुटिएका छन् । उनलाई सोही ठाउँका वडाध्यक्ष हिराबहादुर कार्कीले कुटपिट गरेका हुन् ।
कार्की नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । पन्थीले श्रीमती जानकी पाण्डेयको सरूवाको विषयमा आक्रोशित हुँदै वडाध्यक्ष कार्कीलाई अपशब्द बोलेपछि कुटपिटको अवस्था सिर्जना भएको बताइएको छ ।
‘सानो बच्चाकी आमालाई नियत राखेर सरुवा गरेपछि निकै सास्ती भएको छ । मैले त्यही आक्रोश वडाध्यक्षलाई पोखेँ,’ शिक्षक पन्थीले भने, ‘सहजीकरणको सट्टा कुटाइ खाएँ।’ विद्यालयका प्रध्यानाध्यापक खिमबहादुर बुढाथोकीले शिक्षक पन्थीले तथानाम गाली गरेपछि वडाध्यक्षले प्रतिवाद गरेको बताए । उनले विद्यालयकै परिसरको घटना भएकाले सीसीटीभी फुटेज प्रमाण भएको उनकाे भनाइ छ ।
पन्थीले २०७६ बाट विद्यालयमा पढाउँदै आएका छन् । वडाध्यक्ष कार्कीले आफूलाई अपशब्द प्रयोग गरेर गालीगलौज गरेपछि हातपात भएको स्वीकार गरे । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले दुवैजना सार्वजनिक पदधारण गरेका व्यक्ति भएकाले गालीगलौज र कुटपिट दुवै गलत भएको बताए । आफूले प्रधानाध्यापकलाई फोन गरेर घटनाको सहजीकरण गर्न भनेको प्रधानले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ भदौ २०८०, १५ : ४१
लेखकबाट थप