काठमाडौं । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले आगामी जलवायु सम्मेलनमा सरोकारवाला सबै संघ संस्था र नेपाल सरकार मिलेर जलवायु परिवर्तनबाट मुलुकमा परेको असरको क्षतिपूर्ति लिन पहल गर्नुपर्ने बताएका छन। नेपाल सरकार र यूएन वुमन नेपालको सहकार्यमा साथसाथै संस्थाले आज यहाँ आयोजना गरेको जलवायु सम्बन्धी कार्यक्रममा उनले जलवायु परिवर्तन सम्बन्धी आगामी अन्तर्राष्ट्रिय सम्मेलन (कोप—२८) मा धेरै उपलब्धि हासिल गर्न सकिने गरी सरकारले तयारी गरिरहेको जानकारी गराए ।
उनले भने, ‘विगतमा जलवायु सम्मेलनलाई गोष्ठी र विदेश भ्रमणको रुपमा बढी केन्द्रित गरेको पाइयो । तर, आगामी कोप¬¬—२८ मा सरकारले व्यापक तयारी गरेको छ, यसपाली पहिलो पटक एक लाख अमेरिकी डलर खर्चमा आफ्नै ‘पेभिलियन’ (वृहत मण्डला) राख्ने निश्चित भइसकेको छ । त्यसमा नेपालका मुद्दा बारे प्रदर्शन गरिनेछ । नेपालका हिमाल र नेपालले गरेका कामहरुबारे त्यहाँ जानकारी गराइने छ ।’ वन मन्त्री डा.महतोले जलवायु परिवर्तनको मुख्य जोखिममा महिला र बालबालिका बढी प्रभावित देखिएको उल्लेख गर्दै भने, ‘घरायसी तथा कृषि तथा अन्य सिपमुलक कार्यहरुमा पनि महिलाहरु नै अग्रपंक्तिमा छन्, पुरुषहरु कमाउनका लागि बाहिर जाने वा विदेशिने भएकोले पनि महिला र बालबालिका जलवायु परिवर्तनले निम्त्याएको विपद्को बढी जोखिममा परेका छन् ।’
व्यवस्थापनमा महिला र बालबालिकालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाई थियो । कार्यक्रममा यूएन वुमन नेपालका राष्ट्रिय प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज्ले नेपाल सरकारले समावेशीताका लागि चालेका कदमहरु महत्वपूर्ण भएको बताउँदै जलवायु परिवर्तनका असर कम गर्न नेपालले चालेका कदमको प्रसंशा गरे । ‘हामी नेपाल सरकारसँग मिलेर जलवायुको असरले महिला तथा जोखिममा परेका समुदायका समस्या सम्बोधनमा काम गर्न इच्छुक छौं’ उनले भने । संस्थाका अध्यक्ष प्रजिता कार्कीले संस्थाले गर्दै आएका कामका बारेमा जानकारी गराउँदै अहिले हाम्रो काँधमा भविष्यको पुस्ताको लागि बस्न योग्य पृथ्वी सुरक्षित गर्ने ठूलो जिम्मेवारी छ भने । उनले कृषिमा जलवायु परिवर्तनले गम्भीर असर गरिरहेको बताउँदै खाद्य संकटतर्फ उन्मुख भइरहेका उल्लेख गरे ।
‘
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ भदौ २०८०, १८ : ४१
लेखकबाट थप