जङ्गली च्याउ खाँदा बझाङमा एक जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १४ भदौ २०८०, २० : ०२
जङ्गली च्याउ खाँदा बझाङमा एक जनाको मृत्यु

बझाङ । बझाङमा जङ्गली च्याउ खाँदा एक जनाको ज्यान गएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं ६ नौरामा जङ्गली विषालु च्याउ खाँदा नौराका स्थानीय लक्ष्मण कठायतका ७ वर्षिया छोरी सञ्जिला कठायतको ज्यान गएको हो ।

च्याउ खाँदा बिरामी परेकी सञ्जिलालाई बुधबार राति नै उपचारको लागि जिल्ला अस्पताल ल्याइएको थियो । उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि डडेल्धुरा रिफर गरिएकोमा बिच बाटोमै ज्यान गएको छ ।

उहाँका ११ वर्षिय छोरा सुदिपको अवस्था पनि गम्भीर रहेको छ । बिहीबार उपचारको लागि जिल्ला अस्पताल ल्याइएका उनको अवस्था गम्भीर भएपछि थप उपचारको लागि धनगढी रेफर गरिएको अस्पतालले जनाएको छ ।

लक्ष्मण कठायतका श्रीमती पुनी कठायत भने जिल्ला अस्पताल बझाङमा उपचार पश्चात घर फर्किएको जयपृथ्वी नगरपालिका ६ का वडाध्यक्ष नरेन्द्र बहादुर सिंहले बताउनुभयो ।

उनको अवस्था अहिले सामान्य रहेको छ । बुधबार राति घरमाथिको लेकबाट ल्याएको बिसालु जंगली च्याउ खाँदा लक्ष्मण कठायतका श्रीमती, एक छोरा र एक छोरी सहित तीन जना गम्भिर बिरामी भएका थिए ।

 
 

प्रतिक्रिया दिनुहोस