धनुषामा ५० केभीएको ट्रान्सफर्मर चोरी

सफल खबर संवाददाता

बुधबार, १३ भदौ २०८०, ०९ : ०१
धनुषामा ५० केभीएको ट्रान्सफर्मर चोरी

जनकपुर । धनुषामा फेरि ट्रान्सफर्मर चोरी भएको छ । जिल्लाको बटेश्वर गाउँपालिकाको शान्तिपुरस्थित ५० केभीएको ट्रान्सफर्मर गएराति चोरी भएको महेन्द्रनगर वितरण प्रमुख रोशन सिंहले जानकारी दिए । 

उनका अनुसार चोरहरूले राति ५० केभीएको ट्रान्सफर्मर चोरेका हुन् । धनुषामा यसअघि पनि शृंखलावद्ध रूपमा ट्रान्सफर्मर चोरीका घटना भइरहेका छन् । 

सोमवार मिथिला नगरपालिका वडा नम्बर २ को नक्टाझिजस्थित नेपाल विद्युत प्राधिकरणले जडान गरेको ट्रान्सफर्मर चोरी भएको थियो । 

२०७९ कार्तिक १९ गते बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ स्थित लक्ष्मणवा टोलबाट १ सय केभीएको ट्रान्सफर्मर चोरी भएको थियो । सोही दिन सोही नगरपालिकाको वडा नम्बर ९ स्थित बलुवा थलही पुल नजिकको ५० केभीए ट्रान्सफर्मर पनि चोरी भएको थियो ।

त्यसै गरी २०८० साउन ३२ गते कलैया उपमहानगरपालिका वडा नम्बर १२ स्थित थरुवा, शितलपुरमा पनि १ सय केभीएको ट्रान्सफर्मर चोरले चोरी गरेको थियो ।

चोरहरूले ट्रान्सफर्मरबाट तामाको क्वाइल निकालेर कवाडमा बेच्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस