काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यवाहक वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अनुदानको लागि सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस लिएको आरोपमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ का तत्कालीन कार्यवाहक वडा अध्यक्ष एवं वडा सदस्य दिलावर कवडियाविरुद्ध मुद्दा दायर गरिएको हो ।
अनुदानको लागि सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा खटिएको अख्तियारको कार्यालय बुटवल सम्पर्क कार्यालय, नेपालगन्जको टोलीले कवडियालाई सेवाग्राहीबाट नौ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार कवडियालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा नौ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवानाको सजाय समेत हुन मागदावी लिई आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ भदौ २०८०, १९ : ४२
लेखकबाट थप