जलविद्युत क्षेत्रमा भएको खर्बौ लगानीको सुरक्षा ग्यारेन्टी सरकारले दिन्छ: गृहमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

मंगलबार, १२ भदौ २०८०, १४ : ५१
जलविद्युत क्षेत्रमा भएको खर्बौ लगानीको सुरक्षा ग्यारेन्टी सरकारले दिन्छ: गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऊर्जा क्षेत्रमा भएको ठूलो लगानीको सरकारले सुरक्षा गर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का पदाधिकारीहरुसँगको भेटमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रमा भएको १३ खर्ब लगानीको सुरक्षाको ग्यारेन्टी सरकारले गर्ने बताएका हुन् ।

 

अहिले सरकारको पहिलो लक्ष्य सुशासनको प्रत्याभूति दिलाउने र सबै तह र तप्काका नागरिकको सुरक्षा गर्ने रहेको मन्त्री श्रेष्ठले बताए । भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले अहिले ऊर्जाका परियोजना निर्माण गर्दा स्थानीयको अवरोधले काम गर्ने वातावरण नबनेको भन्दै परियोजना स्थलमा सुरक्षा पोस्ट राखिदिन आग्रह गरेका थिए । साथै विस्फोटक पदार्थको सहज आपूर्तिका लागि पनि गृह मन्त्रालयबाट आवश्यक सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

 

यस्तै, बीमा प्राधिकरणसँग जलविद्युत उद्यमीको भेटमा अध्यक्ष सूर्य प्रसाद सिलवालले इप्पानका सुझाव समेटेर बीमाका नीति, नियम र निर्देशिकाहरु जारी गर्ने बताएका छन्। पछिल्लो समय बीमा प्राधिकरणले ‘निर्जीवन बीमा कम्पनीहरुको लागि जारी गरिएको न्यूनतम प्रिमियम सम्बन्धी निर्देशिका २०७८’ जारी गर्दै एकतर्फीरुपमा ६०० गुणासम्म प्रिमियम बढाएपछि इप्पानले उक्त निर्देशिका खारेजीको माग गर्दै आएको छ ।

उक्त निर्देशिका पूर्णरुपमा कार्यान्वयन नहुँदै फेरि पनि प्रिमियम बढाउन खोजेपछि इप्पानले गत असार ७ गते बीमा प्राधिकरणलाई ध्यानाकर्षण पत्र लेखेर खबरदारी गर्दै आइरहेको छ । यो बीचमा निर्जीवन बीमा कम्पनीहरुको संगठन नेपाल बीमक संघ र इप्पानबीच दुवै पक्षलाई मान्य हुने प्रिमियम निर्धारणका लागि २र३ पटक छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस