गृहमन्त्रीको आदेश मान्दैनन् काठमाडौँका सिडियोहरु, टिपर आतंक मौलाउदै

बुधबार, ३० साउन २०७५, १६ : ०७
गृहमन्त्रीको आदेश मान्दैनन् काठमाडौँका सिडियोहरु, टिपर आतंक मौलाउदै


काठमाडौँ । राजधानीमा टिप्परले दैनिक जसो मान्छेको ज्यान गएपछि रात्री समयमा मात्र चल्न पाउने गृहमन्त्रालयले व्यवस्था ग¥यो ।
गृहमन्त्री राम बहादुर थापाले चासोका साथ आफैंले निरिक्षण गरि टिपरलाई राती चल्न दिने सिडियोहरुलाई निर्देशन दिए । तर उनको निर्देशन कार्यान्वयन हुन सकेको छैन ।

काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले गृहमन्त्रीको आदेशलाई एउटा कानले सुन्दै ,अर्को कानले उडाउदै बसेका छन् । चार महिना यता टिपरका कारण राजधानीमा १४ जनाको ज्यान गएको छ ।
कम उमेरका चालकले टिपर चलाउने गरेको ट्राफिक प्रहरीको बुझाई छ । जडीबुटीमा मात्रै टिपरको ठक्करबाट पछिल्लो एक महिनामा चार जनाको ज्यान गएको छ । मंगलबार दिउँसो काठमाडौंको जडीबुटीको एकै स्थानमा टिपरको ठक्करबाट दुई जनाको ज्यान लिएको छ ।

गत बुधबार साँझ पनि बालाजु क्षेत्रमा टिपरले दुई जनालाई घाइते बनाएको छ ।  सरकारले राती ८ देखि बिहान ५ बजे सम्म मात्रै टिपर चलाउन दिने व्यवस्था गरिएको छ । तर बिहान, दिउँसो समेत टिपर चली नै रहेका छन् । गृहमन्त्रीको आदेश आएको दुइ दिन नबित्दै गत शनिबार दिउँसै टिपरले काठमाडौंकै सोल्टीमोडमा  अनुजा घिमिरेलाई ठक्कर दिएर  ज्यान लिएको छ । उनी एक प्रहरी अधिकारीको छोरी भएको बताइन्छ । गृहमन्त्रीको निर्देशनले काम नगर्नुको पछाडि कर्मचारी संयन्त्रमा रहेको कमजोर मानसिकता र आदेश पालना नगर्ने र कार्यान्वयन नगर्ने प्रवृत्ति हावी भएको छ । मन्त्रीले दिएको आदेश कार्यान्वयन गर्दै गरुला नी भन्ने सरकारी कर्मचारीको सोच रहेको छ ।

गृहमन्त्रीको आदेश विपरित दिउँसोको समयमा टिपर चलाउनेलाई कारवाही गरिएको छैन । चोक चोकमा रहेका प्रहरीले टिपर निर्धक्क चल्न दिएका छन् । दिउँसै चलेका  टिपर हावाको गतिमा मात्रै गुडेका छैनन, आम मानिसका लागि यमराज नै बनेर खडा भएका छन् । सडकमा गुडेका, पैदल यात्रामा रहेका यात्रुलाई ठक्कर दिएर टिपर सडकमै छाडेर भाग्ने वा ठक्कर दिएर भाग्ने प्रवृत्ति मौलाएको छ ।

नागरिक सुरक्षासंग जोडिएको विषयमा गृहमन्त्रीको आदेशको पालना नगर्ने जिल्ला  प्रशासन कार्यालयका प्रमसख तथा सम्वद्ध अधिकारीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने माग पनि उठेको छ ।
आदेश दिने तर त्यसको पालन नहुने हो भने त्यस्तो आदेश दिनुको कुनै औचित्य हुँदैन । त्यसैले अब आदेश पालन भए नभएको अनुगमन पनि जरुरी भइसकेको छ । राजधानीमा मात्रै नभई पुथ्वीराजमार्ग, कोदारी राजमार्ग तथा पूर्व पश्चिम राजमार्गमा समेत टिपर आतंक रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस