उद्योग समितिको सभापतिमा रास्वपाका पराजुलीले जनमतका खानसँग प्रतिस्पर्धा गर्ने

सफल खबर संवाददाता

आइतबार, १० भदौ २०८०, १२ : ४०
उद्योग समितिको सभापतिमा रास्वपाका पराजुलीले जनमतका खानसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं। प्रमुख दलबीचको भागबन्डामा नपरे पनि राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिमा उम्मेदवार उठाउने तयारी गरेको छ ।रास्वपाका तर्फबाट उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिको सभापतिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने तयारी रहेको सचेतक निशा डाँगीले जानकारी दिइन् ।

 

सत्ता गठबन्धनको तर्फबाट उद्योग वाणिज्यमा जनमत पार्टीका अब्दुल खानले उम्मेदवारी दिँदैछन् ।उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रास्वपाबाट असीम शाह, पार्टीका उपसभापति डोलप्रसाद अर्याल र गणेश पराजुली सदस्य भएकोले उम्मेदवार बनाउने तयारी भएको हो ।

 

संसद्‌मा २ संयुक्त र १० वटा विषयगत समिति छन् । विषयगततर्फ कांग्रेसका ४, एमालेका ३, माओवादीको २, जसपा र जनमतले एक/एक सभापति लिने भागबन्डा  भएको छ ।भागबन्डा अनुसार नै उम्मेदवारी दिने तयारी सत्तारुढ र प्रतिपक्षको छ । राप्रपा र रास्वपा समितिको भागबन्डामा परेका छैनन् । आज समितिको सभापतिको लागि उम्मेदवारी मनोनयन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस