२ करोडको सामानसहित भैरहवा भन्सारबाट २ वटा ट्रक नियन्त्रणमा

सफल खबर संवाददाता

शनिबार, ०९ भदौ २०८०, १३ : २९
२ करोडको सामानसहित भैरहवा भन्सारबाट २ वटा ट्रक नियन्त्रणमा

बुटवल। प्लास्टिक दाना भनेर अर्कै सामान नेपाल भित्र्याउन खोज्ने दुईवटा ट्रक भैरहवा भन्सार कार्यालय बेलहियाले नियन्त्रणमा लिएको छ। भारतबाट प्लास्टिकका दाना भनेर बेलहिया भन्सार कार्यालय प्रवेश गरेका दुई वटा ट्रक चेकजाँच गर्दा कपडा, काजु, किसमिसलगायतका सामान भेटिएको भैरहवा भन्सार कार्यालय स्रोतले जनाएको छ।

 

भन्सार कार्यालय प्रमुख मनिराम पौडलले कार्यालयलाई प्राप्त सूचनाका आधारमा भन्सार प्रवेश गर्दा गरिने स्वघोषणामा प्लास्टिक दाना भनेर घोषणा गरेका २ वटा मालवाहक गाडीहरू चेकजाँच गर्दा ठूलो परिमाणमा कपडा, काजु किसमिसलगायतका खाद्य सामग्री फेला परेपछि नियन्त्रणमा लिइएको बताए।ना ५ ख ३३५ नम्बरको नेपाली ट्रक र यूपी ५३ जीटी ०५७८ नम्बरको भारतीय मालवाहक गाडी भन्सार परिषरबाटै नियन्त्रणमा लिइएको भए पनि चालकहरू फरार छन् ।

 

चालक फरार भएकाले बरामद सामान कस्को हो ? भन्ने नखुलेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले जानकारी दिए । ‘भन्सार कार्यालयको प्रवेशमा घोषणा गर्दा एउटा प्रकृतिको सामान छ भनेको गाडीमा अर्कै समान छ बरामद भएको छ’ उनले भने।

भन्सार कार्यालयका प्रमुख पौडेलका अनुसार शुक्रवार गरिएको प्रारम्भिक जाँचका क्रममा नियन्त्रणमा लिइएका दुई वटा ट्रकहरूबाट करिब २ करोड बराबरका सामान रहेको पाइएको छ। 

‘अझै ति समानहरूको मूल्यांकन गर्ने काम हुँदैछ, हामीले अहिले गाडी बाहेक २ करोडको कपडा र काजु किसमिसलगायतका सामान भएको अनुमान गरेका छौं’ भन्सार प्रमुख पौडेलले भने।

प्रतिक्रिया दिनुहोस