मोरङमा फेला पर्‍यो नयाँ जातको कछुवा

सफल खबर संवाददाता

शनिबार, ०९ भदौ २०८०, १० : ४९
मोरङमा फेला पर्‍यो नयाँ जातको कछुवा

काठमाडौ । मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ। अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएको छ।

‘बेतना सिमसारमा धेरै वर्ष अघिदेखि पाउने गरिएको ती कछुवालाई मयूर प्वाँखे कछुवा भन्ने गरिन्थ्यो, तर त्यसको च्यापु हेरेपछि थाहा भयो यो नेपालका लागि नयाँ प्रजातिको कछुवा भनेर,’वातावरण पत्रकार साथै प्राणी शास्त्रका उपप्राध्यापक रामचन्द्र अधिकारीले बताए। 

सन् २०२२ मा आरको नेपालको सहयोगमा अस्ट्रियाका वैज्ञानिक डा पिटर प्रस्छाङको नेतृत्वमा गरिएको अनुसन्धानले मोरङको बेतना सिमसारमा ब्लाक सफ्ट सेल (कालो नरम खपटे) प्रजातिको कछुवा फेला पारेको हो। जसको वैज्ञानिक नाम ‘निलोस्सोनिया निगृकन्स’ हो।

उक्त अनुसन्धान टोलीका एक सदस्य तपिल प्रकाश राईका अनुसार उक्त कछुवा ‘आईयूसीएन’मा अति सङ्कटापन्न प्रजातिका रुपमा सूचीकृत छ। नरम स्वभावको, मानिससँग घुलमिल हुन रुचाउने उक्त कछुवा ७० देखि ८० किलोसम्मका हुने र बेतना सिमसारमा करिब दुई दर्जन रहेको अनुसन्धान टोलीका सदस्य तपिल प्रकाश राईले जानकारी दिए। 

भारत र बङ्गलादेशको केही स्थानमा मात्र भेटिने उक्त कछुवा झट्ट हेर्दा मयूर प्वाँखे कछुवासँग मिल्दाजुल्दो देखिन्छ तर फरक प्रजातिको रहेको राईले बताए। ठूला प्रजातिको संरक्षणमा सरकारले चासो देखाए पनि कछुवाका लागि भने ध्यान नदिएको अनुसन्धानकर्ताहरु बताउँछन्। सरकारीस्तरबाटै यो प्रजाति संरक्षणका लागि चासो हुनुपर्ने उनीहरुको माग छ। हालसम्म नेपालमा कछुवाका १७ प्रजाति र दुई उपप्रजाति फेला परेका छन्। तीमध्ये १३ वटा कडा हाड र चार प्रजातिका नरम खपटा भएका छन्। 

तराईका केही जिल्लामा मात्र भेटिने मयूर प्वाँखे कछुवा अन्यन्त्रको तुलनामा पूर्वी नेपालमा बढी मात्रामा भेटिने गरेका छन्। सिमसारमा कृतिम संरचना निर्माण गर्दा बासस्थान विनाश हुँदै गएको र चोरी तस्करी नियन्त्रण हुन नसक्दा यसको अस्तित्व लोप हुने खतरा छ। सर्वाहारी यो कछुवा आईयूसीएन रेड लिस्टमा  सङ्कटापन्न सूचीमा छ अर्थात् यो प्रजातिको कछुवा र बाघ दुवै एउटै सूचीमा छन्।

‘बाघको संरक्षणमा जति महत्त्व छ, यो कछुवा संरक्षणमा पनि त्यति नै महत्त्व छ। ठूलो टाउको पिठ्युँ (खपटा) मा बुट्टाजस्तो देखिने ठ्याक्कै, मयूरको प्वाँखको बीच भागको आँखाजस्तो देखिने बुट्टा बाहिरी अवारण हेर्दै थाहा हुन्छ मयूर प्वाँखे कछुवा”, स्थानीय बेलबारी–९ का काचिलाल धिमालले भने।

प्रतिक्रिया दिनुहोस