सरकार विद्युत् उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुन लागि परेको छः : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

मंगलबार, ०५ भदौ २०८०, १४ : २६
सरकार विद्युत् उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुन लागि परेको छः : प्रधानमन्त्री प्रचण्ड

भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विद्युत् उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पुरा गर्न लागि परेको बताएका छन् । भरतपुर २२०-१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौँडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको आज समुद्घाटन गर्दै उनले भने, यसका लागि सरकारले निजी लगानीकर्तालाई विद्युत् उत्पादनमा प्रोत्साहन गरेको छ ।’ उनले अन्तरदेशिय ट्रान्मिस्सन लाईन विस्तार गरी विद्युत् व्यापारलाई प्राथमिकता दिएको उल्लेख गरे । उनले भने, ‘हालैको भारत भ्रमणमा भारत सरकारसँग विद्युत् खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको छ ।’

उनले बङ्गलादेशसँग विद्युत् व्यापारको ढोका खुलेको बताउँदै आसन्न चीन भ्रमणमा पनि विद्युत् व्यापारको सम्भावना रहेको बताए ।प्रधानमन्त्रीले आफूहरूको जोड बढिभन्दा बढी स्वदेशमा विद्युत् खपत गरी जनताको जीवनस्तर उकास्ने तर्फ नै सरकारको जोड रहेको पनि स्पष्ट पारे । उनले विद्युत् विकासमा उत्पादन, प्रसारण र वितरणको नीति लिइनुपर्ने बर्ताए। विगतको मन्दताभन्दा अहिले उत्पादनमा तीव्रता आएको प्रधानमन्त्री ‘प्रचण्ड’को भनाई थियो ।

नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (ईआइबी)को सहुलियतपूर्ण ऋणमा सबस्टेसन र नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो ।

सबस्टेसन २०७७ को असारमा ठेक्का लागेर २०८० को साउनमा निर्माण सम्पन्न भएको थियो । यसको कूल लागत एक अर्ब ५२ करोड छ ।हेटौँडा-भरतपुर(बर्दघाट २२० केभी प्रसारण लाइनको लम्बाइ करिब १४७ किलोमिटर छ । ७ अर्ब ९४ करोड कूल लागतमा निर्माण सम्पन्न भएको यो प्रसारण लाइनबाट एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने क्षमता छ ।

हेटौँडा-भरतपुर र भरतपुर(बर्दघाट दुई खण्डमा विभाजन गरी यसको निर्माण गरिएको थियो । मकवानपुरको हेटौँडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौँडा सबस्टेसनबाट नयाँ भरतपुर सबस्टेसनसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा चार्ज गरिएको छ ।

दोस्रो खण्डअन्तर्गत नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई बर्दघाट सबस्टेसनमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनलाई हाल १३२ केभीमा सञ्चालनमा ल्याइएको छ ।

प्रसारण लाइनको क्षमता सुदृढीकरण, नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि हेटौँडा-भरतपुर-बर्दघाट प्रसारण लाइन निर्माण गरिएको हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा आयोजना सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस