चितवन । बस्तीमा देखिन थालेको बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जको प्रयास असफल बन्दै आएको छ । पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २६, २७, २८ लगायतका क्षेत्रमा देखा परेको बाघ नियन्त्रणका लागि निकुञ्जले प्राविधिक टोली खटाएको छ ।
साउन २५ गतेदेखि निकुञ्जको टोली परिचालन भएको भए पनि अहिलेसम्म बाघलाई नियन्त्रणमा लिन सकेको छैन । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अहिले वाघ मेघौली क्षेत्रमा रहेको अनुमान गरिएको छ । नियन्त्रणमा लिनका लागि निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठको नेतृत्वमा २२ जना खटिएका छन् ।
यस्तै दैनिक सात हात्ती परिचालन गरिएको उनले जानकारी दिए । हात्तीलाई आवश्यकताअनुसार थपघट गरिँदै आएको छ । टोलीले बाघ भेटेको भए पनि डार्ट गर्न नसक्दा नियन्त्रणमा लिन कठिन भएको हो ।
तिवारीका अनुसार अनुमानित आठ वर्षको यो बाघ बस्तिको छेउ छाउमा आउने, पशु चौपायमाथि आक्रमण गर्न थालेपछि यसलाई नियन्त्रणमा लिन लागिएको हो । उनले भने, “बाघ बस्ती क्षेत्रमा बस्न नरुचाउने जनावर हो । यो किन बस्तीको नजिक बस्न थाल्यो भन्ने विषयमा बुझ्दै छौँ ।” बस्ती क्षेत्र आसपासमा बस्न खोज्नुले बाघको अवस्थाबारे बुझ्न र नियन्त्रणमा लिएर निकुञ्ज आसपासका जनतालाई त्रास मुक्त बनाउन टोली खटाइएको हो ।
निकुञ्जले बाघ नियन्त्रणमा लिए पनि राख्ने ठाउँको भने अभाव भएको छ । बाघ राख्ने खोरको अभावका कारण नियन्त्रणमा लिएपछि बाघलाई कहाँ राख्ने भन्ने अन्यौल छ । केही महिनाअघि नियन्त्रणमा लिएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्जमा लगेर छोडिएको थियो भने साउनमा नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जको भित्री क्षेत्रमा लगेर छोडिएको थियो ।
निकुञ्जको खोरमा अहिले पनि पाँच बाघ रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०४ भदौ २०८०, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाघको आक्रमणबाट एक जनाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव
आज विश्व बाघ दिवस, सबैभन्दा बढी बाघ भारतमा
बस्तीमा पसेको बाघ २३ घण्टापछि नियन्त्रणमा
बाख्रा चराउन गएका गोठालाको बाघको आक्रमणबाट मृत्यु
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा बाघ