नेपाली जन प्रगतिशील मञ्च अमेरिकाको अध्यक्षमा पौडेल चयन

सफल खबर संवाददाता

आइतबार, ०३ भदौ २०८०, १४ : ३१
नेपाली जन प्रगतिशील मञ्च अमेरिकाको अध्यक्षमा पौडेल चयन

अमेरिका । नेपाली जन प्रगतिशील मञ्च अमेरिकाको राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । आइतबार अमेरिकाको टेक्सस राज्यको राजधानी अष्टिनमा सम्पन्न भएको महाधिवेशनबाट काशीनाथ पौडेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन भएको छ ।निवर्तमान अध्यक्ष तिलक केसीको सभापतित्वमा सम्पन्न महाधिवेशनबाट उपाध्यक्षमा शिवराल पुरी, महासचिवमा निर्मल पाण्डे, सचिवमा प्रदीप चौलागाइँ र कोषाध्यक्षमा विमल पछाइँ सर्वसम्मत चयन भएका छन् । 

यस्तै  सदस्यहरु राजु गुरुङ, पीयूष घिमिरे, देव शर्मा, इबोन राई, विनोद कुइँकेल, विष्णु कार्की, पवन ओली, सुरेश केसीलगायत .चयन भएका छन् ।  १७ सदस्यीय कमिटीमा ५ जना पदाधिकारी र बाँकी सदस्य चयन भएको बताइएको छ । माओवादी केन्द्रको प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले उद्घाटन गरेको कार्यक्रम मधु सागर पौडेल सञ्चालन गरेका थिए ।  

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले सरकारले भ्रष्टाचारका ठुला ठुला फाइलहरू खोल्न सुरु गरेको भन्दै सुशासन कायम गर्ने सन्दर्भमा दोषी देखिए सरकारले आफ्नै पार्टीका नेताहरूलाई पनि नछाड्ने बताए ।  तर, भ्रष्टाचारका फाइल खोल्नेवित्तिकै विपक्षीहरू आत्तिन थालेको भन्दै उनले सोही कारण निरन्तर संसद् अवरोध गर्न थालिएको बताए ।  ‘सरकारले भ्रष्टाचारका फाइल खोल्दा विपक्षीहरू आत्तिन थालेका छन्’, उनले भने, ‘सरकार भ्रष्टाचार निर्मूल बनाउन लागिपरेको छ ।  हाम्रा पनि कोही दोषी छन् भने सरकारले कारबाही गर्छ, कसैलाई बाँकी राख्दैन ।’ 

 

शर्माले विपक्षीहरू माओवादीको लोकप्रियताबाट आत्तिएको भन्दै अमेरिकामा बस्ने माओवादीबाहेकका गैरआवासीय नेपालीमा पनि सोही प्रवृत्ति देखिएको बताए । तर, भ्रष्टाचार विरोधी अभियन्ता र बुद्धिजीवीहरूले सरकारले गरेको राम्रो कामको प्रशंसा गरिरहेको उनको भनाइ थियो । उनले पार्टीको केन्द्रीय समिति बैठकको निर्णयअनुसार तीन महिने अभियान सुरु गर्न लागिएको भन्दै यसलाई सफल बनाउन नेपाली जन प्रगतिशील मञ्चको सहयोग जरुरी रहेको बताए । 

 तीन महिने अभियानमा माओवादीमाथि आस्था राख्ने विश्वभरका नेपालीलाई समेटिने शर्माले बताए ।यसैगरी समन्वय समितिका सचिव टिबी पाठकले अमेरिकाको राष्ट्रिय अधिवेशनले देश र प्रवासलाई एकताको सन्देश दिएको धारणा राखे । 

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रवास समन्वय समितिका सदस्य नारायण कँडेलले संगठनमा कसैलाई पनि अन्याय नहुने बताए । ‘हामी भावनामा एकीकृत भएका छौँ र सङ्गठनलाई एकीकृत बनाइन्छ’, उनले भने । यसैगरी समितिका अमेरिका सचिव प्रवास समन्वय समितिका सदस्य प्रकाश अधिकारीले पनि सबै जना एकताबद्ध भएर अघि बढ्दै माओवादी आन्दोलनलाई उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिए ।

सो क्रममा उनले सम्मेलनको सफलताको शुभकामना समेत दिएका थिए ।सो क्रममा नवनिर्वाचित कमिटीलाई अध्यक्ष शर्माले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए भने सचिव टिबी पाठकले नयाँ कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ दिलाएका थिए । यस्तै उनले नेपाल र अमेरिकामा रहेका नेपालीको हितमा काम गर्न पनि नवनिर्वाचित कार्यसमितिलाई निर्देशन दिए । 

 

यसैबीच नवनिर्वाचित अध्यक्ष पौडेलले सङ्गठनलाई गति दिने प्रतिबद्धता जनाए भने पूर्व राष्ट्रिय कमिटीका सदस्य बाबुराम सदस्यले कार्यक्रम भव्यताका साथ सम्पन्न भएकामा सबैलाई बधाई तथा धन्यवाद ज्ञापन गरे । कार्यक्रममा विनोद कुइँकेलका साथै भरत ढकाल, किसान रेग्मीलगायतले महाधिवेशन सफलताको शुभकामना मन्तव्य दिएका थिए । 

प्रतिक्रिया दिनुहोस