फेसबुक आइडी ह्याक गरेर १४ लाख ५८ हजार ठगी, पाँच जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ०१ भदौ २०८०, १३ : ५६
फेसबुक आइडी ह्याक गरेर १४ लाख ५८ हजार ठगी, पाँच जना पक्राउ

काठमाडौँ। विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी ह्याक गरेर उनीहरूका नजिकका व्यक्तिसँग पैसा उठाएर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउपर्नेमा बारा जीतपुरसिमरा उपमहानगरपालिका–१७ रामनगर घर भई हाल काठमाडौं महानगरपालिका नयाँ बसपार्क बस्ने सीमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ, रोहन गुरुङ र पोखरा महानगरपालिका–१० घर भई नयाँ बसपार्क बस्ने शुभेक्षा गुरुङ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

 

कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पक्राउ परेको उक्त समूहले हालसम्म विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी ह्याक गरी त्यसबाट उनीहरूले रु १४ लाख ५८ हजार ठगी गरेको खुलेको छ । 

साथै हालसम्म २२ जना पीडित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सम्पर्कमा आएका छन् । विभिन्न व्यक्तिका फेसबुक आइडी ह्याक गरेर उनीहरूले म्यासेन्जरबाट म्यासेज गरी इ–सेवा र खल्तीजस्ता वालेटमा पैसा हाल्न लगाइ ठगी गर्ने गरेका थिए । 

 

त्यसमा सीमान्तले आइडी ह्याक गर्ने गर्थे भने अमन्तले विभिन्न बहानामा रकम माग गर्ने, शुभेच्छा तथा अनुपको काम भनेको वालेटमा आएको रकम झिक्ने काम रहेको र रोहनले भने उनीहरूलाई सीमकार्ड उपलब्ध गराउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।

पक्राउ परेकालाई ठगी तथा विद्युतीय कारोबार ऐन २०६३ बमोजिम थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।