नेपालमै पहिलो पटक अफलाइन भुक्तानी सेवाको सुरुवात

सफल खबर संवाददाता

आइतबार, २८ साउन २०८०, १९ : ५७
नेपालमै पहिलो पटक अफलाइन भुक्तानी सेवाको सुरुवात

काठमाडौं । एभरेस्ट बैंकले फोने पे नेपालसँगको सहकार्यमा नेपालमा पहिलो पटक “अफलाइन भुक्तानी” सेवा सञ्चालनमा ल्याएको छ । बैंकका सम्पूर्ण ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप बाट यो सेवा उपभोग गर्न सक्ने छन् ।  यस सेवा अन्तर्गत ग्राहकहरूले इन्टरनेट वा डाटा कनेक्टिभिटी नहुँदा पनि सजिलै भुक्तानी सुविधा प्राप्त गर्न सक्नेछन् ।

विशेष कार्यक्रमका बिच बैंकका नायब महाप्रबन्धक आशुतोष शर्मा र फोन पे नेपालका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाले सो सेवाको समुद्घाटन गरेका छन् । सो कार्यक्रममा बैंकका डिजिटल बैंकिङ विभाग प्रमुख शंकर पोखरेल र फोन पे का अन्य विशिष्ट अधिकृतहरूको समेत उपस्थिति रहेको थियो । 

सो समारोहमा बैंकका नायब महाप्रबन्धक शर्माले अफलाइन भुक्तानी सुविधाले ग्राहक सुविधा र ग्राहक केन्द्रित नयाँ उर्जा थपेको र नेपाली बैंकिङ भविष्यलाई समेत नयाँ आकार दिएको बताए ।साथै फोने पे का प्रमुख कार्यकारी अधिकृत सापकोटाले यस सुविधाबाट इन्टरनेटको सीमाहरूलाई पार गरी आधुनिक बैंकिङ्मा नयाँ आयाम थपिने बताए । 

हालको लागि उक्त सुविधा एनएफसी प्रविधि भएको एन्ड्रोइड फोनहरुमा मात्रै उपलब्ध हुने जनाइएको छ । यस सेवालाई ग्राहकहरूले सर्वप्रथम आफ्नो एपमा सेट गरी आफ्नो स्मार्टफोनलाई व्यापारीको स्मार्टफोनमा “ट्याप” गरी सजिलै भुक्तानी प्रक्रिया पुरा हुनेछ भने व्यापारी तथा व्यवसायीहरूले आफू सँग भएको “फोन पे बिजनेस एप” बाट भुक्तानी स्वीकार गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस