उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवद्वारा भरतपुर अस्पतालको निरीक्षण

सुरेन कुँवर

आइतबार, २७ साउन २०७५, १४ : ०२
उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवद्वारा भरतपुर अस्पतालको निरीक्षण

चितवन । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आइतबार भरतपुर अस्पतालको निरीक्षण गर्नु भएको छ । निरीक्षणका क्रममा मन्त्री यादवले बिरामीसँग कुराकानी गर्नुभयो । कुराकानीमा बिरामीहरुले भरतपुर अस्पतालमा चाप वृद्धिले सहजै सेवा लिन नपाएको बताएका छन् ।
उनीहरुले अस्पताललाई यथाशिघ्र व्यवस्थित बनाउन आग्रह गरेका छन् । मन्त्री यादवले अस्पताललाई व्यवस्थित बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । मन्त्री यादवलाई भरतपुर अस्पतालका पदाधिकारीले अस्पतालले केन्द्रीय अस्पतालको सेवा दिएपनि जिल्ला अस्पतालमा काम गर्नुपर्दा समस्या भएको औंल्याएका थिए । उनीहरुले अस्पतालको जग्गा अरुले भाडामा प्रयोग गर्दै आएपछि अस्पतालको स्तर उन्नति गर्न समस्या भइरहेको जानकारी गराएका थिए ।
भरतपुर अस्पतालमा धेरै बिरामीको चाप हुने गरेपनि स्रोत साधनको अभावका कारण बिरामीहरुले सास्ती भोग्नुपर्ने बाध्यता छ । करिब २ घण्टासम्म स्वास्थ्यमन्त्री यादवले अस्पतालका विभिन्न विभाग र वार्डको अवलोकन एवं निरीक्षण गर्नुभएको थियो । भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालका रुपमा विकास गर्नुपर्ने चर्चा चलिरहेको बेला स्वास्थ्यमन्त्री यादवको निरीक्षणलाई महत्वका साथ हेरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस