लुम्बिनी प्रदेशमा मन्त्रालय थपेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

सफल खबर संवाददाता

आइतबार, २१ साउन २०८०, १६ : ५०
लुम्बिनी प्रदेशमा मन्त्रालय थपेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

बुटवल । लुम्बिनी प्रदेशमा मन्त्रालय विभाजन गरेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको छ । गत वैशाख १५ गते नेपाली कांग्रेसका डिल्ली चौधरीको नेतृत्वमा गठन भएको सरकारलाई पूर्णता दिन मन्त्रालय विभाजनको तयारी भइरहेको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोषकुमार पाण्डेले बताए ।

उनले हाल भएका मन्त्रालयलाई विभाजन गरी दुई वटा मन्त्रालय थप्ने र साउन महिनाभित्रै सरकारलाई पूर्णता दिने गृहकार्य भइरहेको बताए ।सरकार गठन गर्दा सत्तारुढ दलहरूबीच भएको सहमति अनुसार कांग्रेसका ३ र माओवादी केन्द्रका २ मन्त्री बनाउने तयारी रहेको मन्त्री पाण्डेले खुलाए ।

दुई वटा मन्त्रालय थपेपछि अब लुम्बिनी प्रदेशमा १२ वटा मन्त्रालय हुनेछन् । अहिले मुख्यमन्त्रीसहित ७ जना मन्त्री छन् । प्रदेशमा हाल ३ वटा मन्त्रालय खाली छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित हाल १० वटा मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले खानेपानी, ग्रामीण तथा सहकारी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय सम्हालिरहेका छन् ।

नयाँ दुई वटा मन्त्रालय बनाउन उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय र सहरी विकास मन्त्रालय विभाजन गर्ने गृहकार्य भइरहेको बताइन्छ । नयाँ मन्त्रालयको नाम र कुन मन्त्रालय कसलाई दिने भन्ने अझै टुङ्गो लाग्न बाँकी रहेको प्रदेश सरकारका अर्का एक मन्त्रीले बताए ।

माओवादी लुम्बिनी प्रदेश प्रमुख सचेतक इन्द्रजीत थारुले मन्त्रालय विभाजन गर्ने सहमति पहिला नै भइसकेको बताए ।उनले भने, ‘हामीले मन्त्रीको नाम फाइनल गरेर पठाएका छाँै, सायद उतैबाट कुरा मिलेको छैन ।’ उनले धेरै काम हुने मन्त्रालयलाई विभाजन गरेर मन्त्रालयको संख्या थप्नेबारे मोटामोटी सहमति भएको बताए ।

मन्त्रीका लागि कांग्रेसबाट दलबहादुर राना, विश्व प्रेम पाठक, भुवनेश्वर चौधरी, धनेन्द्र कार्की, निमा गिरी लगायतले कसरत गरिरहेका छन् ।माओवादी संसदीय दलले कृष्णा केसी र दीपेन्द्र पुनलाई मन्त्रीको रुपमा सिफारिस गरेको छ ।

मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक–एक जना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ ।८७ सदस्यीय प्रदेश सभामा एमालेका २९ र राप्रपाका ४ गरी ३३ जना अहिलेको विपक्षमा छन् ।