चितवनमा लागुऔषधसहित पाँच जना पक्राउ

हिरालाल आचार्य ‘डायमण्ड’

शनिबार, २६ साउन २०७५, १७ : १८
चितवनमा लागुऔषधसहित पाँच जना पक्राउ

चितवन । सवारी चेकजाँच गर्ने क्रममा चितवन प्रहरीले मोटरसाइकलबाट लागुऔषध फेला पारेको छ । प्रहरीले आज शनिबार तीन जना र गत मंगलबार दुई जनालाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरी टोलीले न्युरोडमा सवारी चेकजाँच गर्ने क्रममा ना २४ प ११०० नम्बरको मोटरसाइकलबाट लागुऔषध १ सय ९५ ट्याब्लेट बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।
मोटरसाइकलमा सवार किरण जि.सी. र बुद्धि गुरुङलाई पक्राउ गरी सोधपुछ गर्दा गैँडाकोटस्थित किरण जि.सी.को घरमा लागुऔषध लुकाई राखेको उनीहरुले प्रहरीलाई बयान दिएका थिए । बयानका आधारमा किरण जि.सी.को घरमा खानतलासी गर्दा लागुऔषध डाईजेपाम १ सय १५ एम्पुल, व्युप्रिनर्फिन १ सय १५ एम्पुल, फेनारगन १ सय १५ एम्पुल, नाईट्राजेपाम १ हजार ३ सय ५० ट्याब्लेट, स्पास्मोफिभन प्लस ४८ क्याप्सुल, फेन्सिडिल (१०० एम.एल.) को ११ बोतल, विर्फ सिरप (१०० एम.एल.) को ४ बोतल बरामद गरिएको प्रहरी नायब उपरीक्षक ढकालले बताउनु भयो ।

अनुसन्धानका क्रममा लागुऔषध ओसारपसार, संचय, बिक्री वितरण तथा सेवनमा लालकृष्ण ढकाल, सलिम मिया र अमृत आचार्यको संलग्नता रहेको खुल्न आएपछि उनीहरुलाई शनिबार पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गराई थप अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक ढकालले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस