पायक पर्ने स्थानमा मालपोत र नापी कार्यालय सार्न माग

सफल खबर संवाददाता

शुक्रबार, १९ साउन २०८०, १३ : १८
पायक पर्ने स्थानमा मालपोत र नापी कार्यालय सार्न माग

काभ्रे । काभ्रेपलाञ्चोकको ग्रामीण भेगका तीन पालिकाले स्थानीयवासीलाई पायक पर्ने स्थानमा मालपोत र नापी कार्यालय स्थापना गर्न माग गरेका छन् ।नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिकाको जनप्रतिनिधिको बिहीबार बसेको अन्तरपालिका समन्वय बैठकले संयुक्त रुपमा सो माग गरेका हुन् ।

नमोबुद्ध नगरपालिकामा भएको सो बैठकले भौगोलिकरुपमा विकट रहेका महाभारत, रोशी, तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकाका सेवाग्राहीलाई नापी र  मालपोत कार्यालय, राष्ट्रिय परिचयपत्र र मतदाता नामावलीसम्बन्धी सेवा लिन हाल धुलिखेलमा आउनुपर्छ ।  

पालिकालाई पायक पर्ने स्थानमा कार्यालय स्थापना गर्न संयुक्तरुपमा अनुरोध र पहल गर्ने निर्णय भएको नमोबुद्ध नगरपालिकाका प्रवक्ता टीकाबहादुर केसीले बताए । “यस क्षेत्रका बासिन्दाको मागअनुसार तीनवटा नै पालिकालाई पायक पर्ने स्थानमा सो कार्यालय स्थापना गर्न अत्यावश्यक छ ।” उनले भने, “ती कार्यालय स्थापना र संवैधानिक अधिकारअनुसार हस्तान्तरणका लागि सम्बन्धित निकायलाई संयुक्तरुपमा अनुरोध र आवश्यक पहलसमेत गर्ने निर्णय गरेको हो ।” 

बैठकले पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास, विपद् व्यवस्थापन तथा न्यूनीकरण, खानेपानी तथा सरसफाइ, शिक्षा, स्वास्थ्य, कृषिसँग सम्बन्धित नमोबुद्ध, रोशी र तेमालको साझा योजना तथा कार्यक्रम पहिचान गरी सम्बन्धित निकायमा आवश्यक समन्वय र सहकार्य गर्दै सञ्चालन गर्न संयुक्तरुपमा पहल गर्ने निर्णयसमेत गरेको छ । 

त्यस्तै फोहरमैलालाई दिगोरुपमा वैज्ञानिक तथा प्रविधियुक्त तवरले व्यवस्थापन गर्नका लागि ‘एकीकृत फोहरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र’को स्थापना गर्नका लागि तीन नै पालिकालाई सहज हुने स्थान पहिचान गर्ने निर्णयसमेत गरेको छ । नमोबुद्ध–४ मा रहेको प्रादेशिक अस्पताल मेथिनकोट अस्पतालबाट सो क्षेत्रका बासिन्दा लाभान्वित हुने गरेकाले उक्त अस्पतालमा सेवा सुविधा थप व्यवस्थापन गर्न आवश्यक समन्वय, सहयोग र सहकार्य गर्नुका साथै प्रदेश सरकार र सङ्घीय सरकारसँग संयुक्तरुपमा पहल गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै एक नगरपालिका र दुई गाउँपालिकाभित्रका विभिन्न स्थानमा हुनसक्ने प्राकृतिकजन्य तथा स्वास्थ्यजन्य विपद् र अन्य प्रकोपको पहिचान, व्यवस्थापन तथा न्यूनीकरणका लागि संयुक्तरुपमा कार्ययोजना बनाई कार्यान्वयन गर्ने र विपद्जन्य घटनाको व्यवस्थापन, न्यूनीकरण, रोकथाम तथा उद्धारलगायतका कार्य गर्नका लागि पालिकासँग रहेका जनशक्ति, मेसिनरी औजार र सवारीसाधनको आपसी समझदारी गरी आवश्यकरुपमा परिचालन तथा सहयोग गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस